अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

दिवंगत कांग्रेस नेता चक्र बाँस्तोलाको अन्त्येष्टि

बिआरटीनेपाल २०७५ असोज २८ गते ९:२८ मा प्रकाशित

दिवंगत कांग्रेस नेता चक्र बाँस्तोलाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ६ वर्ष अघिदेखि मस्तिष्कघातबाट पीडित बाँस्तोलाको शनिबार निधन भएको थियो । उहाँको पार्थिव शरीरमा भाइका छोरा नवीन बाँस्तोलाले दागबत्ती दिनुभयो । बाँस्तोलाका दुई छोरी सुम्निमा र गरिमा छन् । दुवै छोरी पहिली श्रीमती मधुबाट जन्मिएका हुन् । मधुको निधनपछि बाँस्तोलाले आसामकी कुसुमसँग दोस्रो विवाह गर्नुभएको थियो ।

बाँस्तोलाको पार्थिव शरिरमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खडकासहित नेता–कार्यकर्ता र शुभेच्छुक पशुपति आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा आइतबार राति नै बाँस्तोलाको अस्तु लिएर गृह जिल्ला झापा जानुभएको छ । उहाँको अस्तु सोमबार त्यहीँ सेलाउने कार्यक्रम छ ।

यसैवीच, कांग्रेसले बाँस्तोलाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झन्डा आधा झुकाउने, पार्टीका सबै कार्यक्रम स्थगित गर्ने पार्टी केन्द्रीय कार्यसमिति आकस्मिक बैठकको निर्णय छ । असोज २९ सम्म पार्टीका कार्यालय बन्द रहने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३ औं दिन केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने कांगेंसले जनाएको छ । कांग्रेसले विज्ञप्तिमार्फत पार्टी संगठन सुदृढ एवं गतिशील बनाउन बाँस्तोलाको महत्वपूर्र्ण योगदान रहेको वताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू