अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

विश्व बैङ्कबाट वित्तीय/ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयनको लागि २०० मिलियन डलर ऋण सहायता प्रदान गर्ने सम्झौतामा हस्ताक्षर

बिआरटीनेपाल २०७५ असोज २४ गते ११:४२ मा प्रकाशित

विश्व बैङ्कबाट नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयनको लागि अमेरिकी डलर २०० मिलियन सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्झौतामा आज हस्ताक्षर सम्पन्न भयो । उक्त रकम बजेटरी सहायताको रूपमा परिचालन हुनेछ । माननीय अर्थमन्त्री डा. युवराज खतिवडा तथा विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्री श्रीकृष्ण नेपाल र विश्व बैङ्कको तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर श्री चिम्याओ फ्यानले विश्व बैङ्क तथा अन्तर्राष्टिय मुद्रा कोषको वार्षिक बैठककै अवसरमा इन्डोनेसियाको वालिमा एक समारोहका बिच हस्ताक्षर गर्नु भयो । 

उक्त अवसरमा माननीय अर्थ मन्त्री डा. खतिवडाले विश्व बैङ्कले नेपाललाई प्रदान गरेको सहयोगको सराहना गर्दै नेपालको पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका सामाजिक क्षेत्र र पर्यटन क्षेत्रको विकासमा नेपाललाई थप स्रोतको आवश्यकता भएकोले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । साथै उहाँले नेपालमा थप राजस्व परिचालनका सम्भावनाहरू कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भूकम्प पश्चातको पुनर्निमाण कार्य जारी रहेको र सोको लागि आवश्यक स्रोतको कमी भएको कुरा जानकारी गराउनु भयो । सो अवसरमा निजी क्षेत्रको लगानीमा रहेका नीतिगत अवरोधलाई हटाउँदै लगानीको लागि उपयुक्त वातावरण निर्माण गर्न नीति कार्यान्वयन सहयोग गर्ने सम्बन्धमा विकासका लागि अधिकतम वित्त लगानी गर्ने गरी कार्य योजना तयारी गर्ने सम्बन्धमा छलफल भयो । नेपालले अवलम्बन गरेका आर्थिक तथा नीतिगत सुधारप्रति सन्तोष व्यक्त गर्दै विश्व बैङ्कका उपाध्यक्ष सेफरले विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत परिचालन हुने आगामी अवधिमा सहायता वृद्धि हुने बताउनुभयो ।

आजै नेपाली प्रतिनिधिमण्डल र अन्तर्राष्टिय वित्त निगमका प्रमुख सञ्चालन अधिकृत श्री स्टेफनी भोन फ्राइडवर्ग सहितको प्रतिनिधिमण्डलबिच त्रिपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल सम्पन्न भयो । उक्त छलफलमा माथिल्लो त्रिशुली ए विद्युत् आयोजनालाई यथाशीघ्र कार्यान्वयनमा लैजाने ऊर्जा, पर्यटन तथा सहरी पूर्वाधार विकासका आयोजनाहरुमामा आगामी दिनमा निजी क्षेत्रमार्फत थप लगानी परिचालन गर्ने विषयमा समेत प्रतिबद्धता व्यक्त भयो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय