अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

मन्त्रिपरिषद बैठक – पत्रकारको तलव २५ प्रतिशत वृद्धि गर्ने निर्णय

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:३६ मा प्रकाशित

नेपाल सरकार मन्त्रीपषिद्को वैठकले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको हो । आईतवार वसेको मन्त्रीपरिषद् वैठकले श्रमजीवि पत्रकार र सञ्चार क्षेत्रमा काम गर्नेहरुलाई न्यूनतम पारिश्रमिक २५ प्रतिशतले बृद्धि गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । यसअघि श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय तोकिएकोमा सरकारको यो निर्णयसँगै अब उनीहरुको न्यूनतम पारिश्रमिक २४ हजार ३ सय पुगेको छ । सरकारको सो निर्णय कार्तिकबाट लागू हुनेछ ।

सरकारले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार, लेखक एवम् स्तम्भकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले गोविन्द पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै सो पदमा भण्डारीलाई नियुक्त गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण पनि मागेको छ । सरकारले उखु उत्पादक किसान, चिनी उद्योग र उपभोक्ताको हित संरक्षणका लागि आवश्यक रणनीति तय गर्न राष्ट्रिय योजना आयोकका कृषिसम्बन्धि सदस्यको संयोजकत्वमा उद्योग, कृषि, अर्थ मन्त्रालयका सहसचिव र उखु किसान संघ, चिनी उद्योग संघ र उपभोक्तासँग सम्बन्धित संस्थाहरु रहेको ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।

चिनी र चिनीको मूल्यसम्बन्धि समस्या समाधान गर्न सरकारले सो कार्यदल गठन गरेको हो । मन्त्रिपरिषद बैठकले उर्जाको क्षेत्रमा लगानी बढाउन विश्व बैंकबाट ११ अरब ६३ करोड ऋण सहायता लिनेसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्ने अख्तियारी अर्थ सचिवलाई दिने निर्णय पनि गरेको छ । त्यसैगरी, सिन्धुली सडक सुधारका लागि जापान सरकारले दिने १ अरब ४ करोड अनुदान सहायता स्विकृत पनि गरिएको सरकारका प्रवक्ता बास्कोटाले वताउनुभयो ।

सरकारले नागरिक लगानी कोषको संचालकमा डा.रामचन्द्र भट्टराईलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभा बैठक र कोष्टारिकामा आफू नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू