प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता अनुसार शिक्षण संस्थाहरू खोल्नुपर्ने वताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षालाई देशको आवश्यकता अनुसार अघि बढाउनु पर्ने वताउनुभएको हो ।
विश्वविद्यालयहरूमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी कलेजहरूले सम्बन्धन पाएको उहाँको भनाई थियो । यस वर्षदेखि सुरू गरिएको निरक्षरता विरूद्धको महाअभियानले आगामी वर्ष सम्म सबै बालबालिकालाई विद्यालयमा ल्याउने प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । उहाँले शिक्षालाई आजको विज्ञान र प्रविधिको समेत उपयोग गरेर अघि बढाउनु पर्ने आवश्यकता पनि औंल्याउनुभएको छ । मुलुकको अहिलेको आवश्यकता विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पूरा नगर्ने भएकोले प्रयोगात्मक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने प्रधानमन्त्रीको ठहर थियो ।
साधारणसभाले आव २०७५/२०७६ का लागि प्रस्तावित आयव्यय विवरण र आव २०७१/२०७२ र आव २०७२/२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ । साधारणसभामा प्रस्तुत गरिएका अन्य प्रस्तावहरू अर्को बैठकमा छलफल गर्ने गरी आजको साधारणसभा स्थगित गरिएको छ ।