निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई ईन्काउण्टर गर्न मुस्ताङ जेलमा सरुवा गरेको वस्नेत परिवारले आरोप लगाएको छ । बुधबार बस्नेतका परिवारले काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो । बस्नेतकी श्रीमती माया शेरचन र दाईहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समिरलाई काठमाण्डुबाट रातारात मुस्ताङ पुर्याएको भन्दै आपत्ति जनाउनुभयो ।
बस्नेतकी श्रीमती शेरचनका अनुसार उहाँलाई जानकारी नै नगराई रातारात समरिमानलाई मुस्ताङ लगिएको थियो । पोखरामा श्रीमानलाई भेट्दा कहाँ लगिँदैछ भनेर उहाँलाई पनि थाहा नभएको समिरमानले वताएको श्रीमती गौचनको भनाई छ ।
मायाले आफ्नो श्रीमानलाई प्रहरीले ईन्काउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाउनुभयो । समिरलाई काठमाण्डुबाट पोखरासम्म विमानमा लगिएको तर पोखराबाट मुस्ताङको खराब बाटोमा चाहीँ स्थलगत मार्ग हुँदै लगिएकोमा पनि आपत्ति समेत जनाउनुभएको छ ।
कार्यक्रममा समिरको तर्फबाट वकालत गरिरहेका अधिवक्ता कृष्ण प्रसाद शर्माले राज्यले हरेक नागरिकलाई सुरक्षा दिनुपर्ने बताउँदै नागरिकहरुको मानव अधिकारको प्रत्याभुति गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा समिरका दाईहरु सुधिरमानसिंह र सुविरमानसिंहले पनि भाईको जीवन रक्षाको माग गर्नुभएको थियो ।
गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई यही असोज १५ गते सोमबार मुस्ताङ लगिएको थियो । गत असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको आरोपमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो ।