अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ असोज १७ गते ९:१६ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको वताउनुभएको छ । चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले गृह प्रशासनले सूक्ष्म ढंगबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको वताउनुभएको हो । पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिनुभयो ।

छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्कर्षको आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने मन्त्री थापाको भनाई थियो । यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उहाँले स्पष्ट पार्नुभयो ।

अर्को एक प्रसंगमा उहाँले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको वताउनुभयो । वर्तमान सरकार गठनपुर्व नै उक्त परिमाणको तस्करी भइरहेको थियो भन्ने नयाँ तथ्य पत्ता लागेको र सुन तस्करीको सञ्जाल ध्वस्त भएको मन्त्री थापाले दावी गर्नुभयो । साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उहाँले जबसम्म तिनीहरू कानूनको कठघरामा नआउँदासम्म अनुसन्धान चलिरहने वताउनुभयो ।

मुलुकमा व्याप्त अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान सुरू गर्ने उल्लेख गर्दे मन्त्री थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान थाल्ने जानकारी दिनुभयो । देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र ७हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उहाँले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौं युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन सरकारको योजना रहेको वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू