अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 08:32

ज्ञान र सिप भित्र्याउन सम्मेलन कोशेढुङा हुने छ: डा. हेम राज शर्मा, कुमार पन्त, संयोजक, प्रथम एनआरएन विश्व विज्ञ सम्मेलन

सम्मेलनमा १ करोड भन्दा बढी खर्च

बिआरटीनेपाल २०७५ असोज १२ गते ७:०७ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा आगामी १२ र १३ अक्टोबरमा दुई दिने विज्ञ सम्मेलन र विधानसभाको आयोजना गर्दैछ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसाग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने अभिप्रायले आयोजना गर्न लागिएको सम्मेलनका सन्दर्भमा सम्मेलन संयोजक द्वय डा. हेमराज शर्मा तथा कुमार पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौ ।

काठमाडौँमा विज्ञ सम्मेलन गर्दै हुनुहुन्छ, विशेषतः: यो सममेलनको अवधारणा के हो ?
खास के हो भने, आजसम्म विदेशमा हामीले कमाएको पुँजी मात्रै नेपाल भित्रिरहेको छ ,तर अबका दिनमा पुँजी मात्रै होइन, विदेशमा जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्नुपर्छ भन्ने महसुस भएरै यो सम्मेलनको आयोजना गर्न लागेका हौँ । गेरआवासीय नेपाली सङ्घले यही अवधारणा अँगालेर अघि बढेको पनि १५ वर्ष भइसक्यो । तर अब यो अवधारणालाई वास्तवमै कार्यान्वयन गर्नुपर्छ भन्ने लागेर नै यो सम्मेलनको अवधारणा ल्याइएको हो । यस अवधिमा पुँजी भित्राउने विषयमा राष्ट्रले नीतिगत निर्णय लिएको छ र यसले परिणाम दिन थालेको पनि छ । विदेशमा नेपाली दाजुभाइ दिदीबहिनीले कमाएको ज्ञान र सीप कसरी भित्र्याउने र यसको लागि राष्ट्रले कस्तो नीति लिने भन्ने विषयमा ठोस बहस सुरु हुन सकेको छैन । यो सम्मेलन मार्फत सोही बहसको सुरुवात गर्न चाहेका पनि हौँ । सम्मेलनमा नेपाल सरकारको पनि साझेदारी हुने भएकोले पक्कै पनि ठोस निष्कर्षमा पुग्नेमा हामी आशावादी छौँ ।

यस सम्मेलनको उद्देश्य के हो ?
विदेशमा बसेर नेपाली दाजुभाइ दिदीबहिनीले सिकेका ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ठोस निष्कर्ष निकाल्ने र सोही अनुसारको नीति निर्माणमा सरकारको ध्यानाकर्षण गराउने हाम्रो उद्देश्य हो । नेपालमा विद्यमान नीति के कस्ता छन्, विश्वमा के कस्ता नीति अभ्यासमा छन् र तिनीहरूलाई नेपालको परिपेक्ष्यमा कसरी सान्दर्भिक बनाउने भन्नेमा हाम्रो जोड रहनेछ । राष्ट्रले कल्पना गरेको ‘समृद्ध नेपाल’ निर्माण गर्नका लागि दक्ष गैरआवासीय नेपालीहरूको पहिचान गर्दै उनीहरूको ज्ञान र सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि सम्मेलन केन्द्रित रहनेछ । अझ भनौँ हामी यही सम्मेलनमार्फत समृद्ध नेपाल निर्माणका लागि आवश्यक जनशक्तिदेखि ज्ञान र सीप हामीसँग पर्याप्त छ कि छैन भन्ने विषयलाई पनि प्रस्ट पार्न चाहन्छौँ र ‘समृद्ध नेपाल’ बनाउन इँटा थप्न चाहन्छौँ ।

नेपालमा यसअघि पुँजी मात्रै लगानी गर्दै आएकोमा यसपालि यो नयाँ सोचको विकास कसरी भयो र ज्ञान र सीप भित्र्याउने तर्फ ध्यान गयो ?
गैरआवासीय नेपालीहरू जसरी आर्थिक रूपमा सबल हुने बाटोमा छन्, ज्ञान सीप र प्रविधिको क्षेत्रमा पनि त्यति नै सक्षम छन् । नाम चलेका अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान केन्द्रदेखि लिएर सरकारको नीतिगत तहमा काम गरेका थुप्रै गैरआवासीय नेपालीहरू छन् । वैदेशिक रोजगारमा जानेहरू पनि विकसित देशको सीप र प्रविधिमा पोख्त भइसकेका छन् । उनीहरूले आफूले सिकेको सीपलाई नेपालको लागि सदुपयोग गर्न चाहन्छन् । नेपाल सरकार र एनआरएनले उनीहरूको लागि उपयुक्त वातावरण बनाउनु पर्छ भन्ने सोचका साथ यो सम्मेलन आयोजना गर्न लागिएको हो । त्यसको लागि यो सम्मेलन कोसे ढुङ्गा हुने अपेक्षा गरेका छौँ ।

सम्मेलनमा के कस्ता विषयवस्तु समेटिनेछन् ? कुन–कुन क्षेत्रलाई जोड दिइनेछ ?
पहिलो दिन साझाको उद्घाटन र दोस्रो दिन चार वटा प्लेनरी सत्र आयोजना हुनेछ । पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्था लगायत विषयमा छलफल हुनेछ । दोस्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल हुनेछ । तेस्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानी विषयमा छलफल हुनेछ । साथै नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित सत्रहरू पनि समावेश गरिनेछ । दोस्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनिकरण, वातावरणीय प्रदूषणदेखि लिएर फाईनान्सियल रेफर्म, सामाजिक सुरक्षा लगायतका समानान्तर सत्रहरू रहनेछन् । तेस्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागिता हुनेछ, त्यहाँ हामीले सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्नेछौँ । सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरूबिच पनि छलफल र परामर्श हुनेछ ।

यी विषय सर्वसाधारणको सरोकारसँग कसरी जोडिएका छन्?
सम्मेलनका सबै विषयहरू आम जन जीविकासँग जोडिएका छन् । यसका साथै सरकारका विकासका प्राथमिकता परेका विषय पनि छन् । जस्तो भनौँ, कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणिय प्रदूषण न्युनिकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, सङ्घीयतामा शिक्षाको मोडल आदि थुप्रै विषयमा यस सम्मेलनमा छलफल हुनेछ । नेपालमा कृषिजन्य पदार्थ र जडीबुटीको प्रशोधन तथा व्यावसायिक विधिका लागि इनोभेसन को–क्रिएसन सेन्टर खोली उद्यमशीलता कसरी विकास गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने छुट्टै सत्रको आयोजना गरेका छौँ ।

यति धेरै विषयहरू समेटेर परिणाममुखी होला त सम्मेलन ?
सम्मेलनका विषयहरू अलि फराकिला भए भन्ने गुनासो हामीले सुन्दै आएका छौँ । तर यस्तो खालको सम्मेलन पहिलो पटक हुन लागेकोले सबै क्षेत्रका मानिसहरूको सहभागिता होस भन्ने चाहन्छौँ । बाहिर बस्ने नेपालीको ज्ञानको भण्डार के हो भन्नेबारे पहिचान पनि भई सकेको छैन । यस सम्मेलनबाट उनीहरूको स्किल डाईरेक्ट्री बनाउने छाँै ताकी राष्ट्रले आवश्यकता अनुसार उनीहरूलाई सदुपयोग गर्न सकोस् । साथै सम्मेलन प्रत्येक २ वर्षमा गर्ने पूर्व घोषित निर्णयअनुसार भविष्यमा नेपाल सरकारको प्राथमिकतामा रहेका निश्चित विषयमा मात्र केन्द्रित रहेर आयोजना गर्ने भन्ने योजना छ ।

सम्मेलनमा क–कसको सहभागिता रहनेछ ?
नेपाल भित्र र बाहिर कार्यरत विज्ञहरू, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरू, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र बुद्धिजीवी, नेपालको निजी क्षेत्र, नेपालस्थित कूटनीतिज्ञ लगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहनेछ । ‘रिसर्च एन्ड डेभलेपोमेन्ट’ सँग जोडिएका विज्ञ, अनुसन्धान संस्था र विश्व विद्यालयहरूका विज्ञहरूलाई हामीले आमन्त्रण गरेका छौँ । साथै यो सम्मेलन सर्वसाधारणका लागि पनि खुला गरिएको छ । यद्यपि व्यवस्थापनको लागि केही प्रवेश शुल्क तोकेका छौँ ।

सम्मेलनमा सहभागी हुने विज्ञलाई कसरी परिभाषित गर्नुहुन्छ ?
ज्ञान, सीप, र प्रविधिका क्षेत्रमा अनुभव भएका अथवा सो क्षेत्रमा नयाँ बिचार दिन सक्ने दक्ष, प्राज्ञिक सबै खालका व्यक्तित्व सम्मेलनमा आउनुहुनेछ । सम्मेलनमा सहभागी हुन विश्वविद्यालयबाट डिग्री नै लिनुपर्छ भन्ने छैन । नेपालको लागि उपयोग हुने विदेशमा सिकेको जुन सुकै सीपबारे दख्खल राख्ने व्यक्ति नै उपस्थित हुने हो । सम्मेलनमा निजी क्षेत्रबाट पनि सहभागिता रहनेछ किनभने ज्ञान, सीप, र प्रविधिलाई आर्थिक लगानीबाट अलग राख्न सकिँदैन, यी अर्काका परिपुरक हुन् ।

सम्मेलनमा कार्यपत्रहरू कसरी छनोट गर्नुभएको छ , कति जनाको सहभागिता रहन्छ ?
नेपालभित्र र बाहिरका विज्ञहरूको एउटा कार्यक्रम कमिटी बनाएका छौँ । यही कार्यक्रम कमिटीले छनोट गरेका विज्ञहरूको केही कार्यपत्रहरू छन् भने खुला रूपमा पनि शोधपत्र मागेका छौँ । यी कार्यपत्रहरूको रिभ्यु प्रोग्राम कमिटीले गर्छ र छनोट गर्छ । हामीलाई करिब १५० कार्यपत्र प्राप्त भएका छन् भने थप ५०जना प्यानलिष्ट हुनुहुनेछ । अन्य सहभागी सहित करिब ४ सय जनाले भाग लिनेछन् ।

सम्मेलनमा विदेशीहरू पनि सहभागिता हुन्छ कि?
अवश्य हुन्छ, नपालेकाबारे अध्ययन अनुसन्धान गरेका विदेशीहरू पनि यस सम्मेलनमा सहभागी हुनेछन् । खास गरी हामी जस्तै परिवेश भएका तर छोटो समयमा विकासको फड्को मारेका देशका विज्ञहरूको अनुभव हाम्रा लागि प्रभावकारी हुन सक्ब्छन् भनेरै उनीहरूलाई पनि सहभागी गराउन लागिएको हो । जस्तै दिल्ली मेट्रोको इन्जिनियरलाई हामीले निमन्त्रणा गरेका छौँ । उहाँका अनुभव काठमाडौँमा मेट्रो रेल निर्माणमा सहयोगी बन्न सक्छ । युनेस्कोका विज्ञान तथा प्रविधि नीति सम्बन्धी विज्ञको पनि सहभागिता रहनेछ । भारत, इटाली, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशबाट करिब १० जना विदेशी विज्ञहरूले सम्मेलनमा भाग लिनेछन् ।

नेपाल सरकारसँग सहकार्य गरिँदै छ, भनेपछि त यस सम्मेलनले नेपालको नीति निर्माणमा पनि केही टेवा पुग्न सक्ला ?
पक्कै पनि हाम्रो अपेक्षा पनि त्यही हो । यो सम्मेलन नेपाल सरकारको साझेदारीमा हुँदैछ । सम्मेलनका सबै सत्रमा नेपाल सरकार प्रतिनिधिहरूको सहभागिता हुनेछ । पहिलो दिनका सबै सत्रहरू नीतिगत विषयमा केन्द्रित हुनेछ । यो सम्मेलनको मुख्य उद्देश्य नै नेपाल सरकारको नीति निर्माणमा सहयोग गर्ने नै हो ।

सम्मेलन प्राज्ञिक बहसमा मात्र सीमित रहने हो ?
हामीले यो सम्मेलनलाई बहुआयामिक बनाउन चाहेका छाँै । सम्मेलनलाई ज्ञानको मञ्चन गर्ने थलो बनाउने हाम्रो उद्देश्य हो । कसैसँग ईनोभेटिभ आईडिया छ तर लगानी गर्ने पैसा छैन भने उनीहरूलाई सम्भावित लगानीकर्ता भेटाउन यो सम्मेलनले सहयोग गर्नेछ । यसको लागि हामीले एउटा छुट्टै सत्रको आयोजना गरेका छौँ । विदेशमा ज्ञान, सीप सिकेर नेपाल फर्केकाहरूको अवसर र चुनौती के छ, उनीहरू अनुभव साट्नको लागि अर्को सत्रको आयोजना गरिएको छ । सो सत्रमा विदेशबाट फर्किएकाहरूको एलुम्नाईका प्रतिनिधिहरूका प्रतिनिधिहरूलाई आमन्त्रण गरेका छौँ । यस्तै नेपाली विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने मुलुकका राजदूतहरू, युजीसी, नास्ट जस्ता अनुसन्धानका लागि श्रोत उपलब्धि गराउने निकायहरूको प्रतिनिधिहरू पनि आमन्त्रित छन् । रिसर्च एन्ड डेभेलोपमेन्टलाई नयाँ सिरामा पुर्‍याउन यस्ता अन्तरकृयाले सहयोग गर्नेछ ।

सम्मेलनको अनुमानित खर्च कति आकलन गर्नु भएको छ ?
१ करोड भन्दा बढी खर्च हुनेछ । यो खर्च एनआरएनए वा सरकारको कोषबाट नभई स्पोन्सर र प्रवेश शुल्कबाट उठाइने छ ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ?
एनआरएनमा ब्यपारीहरुको सहभागिता रहँदै आएको र प्राज्ञिक क्षेत्रका मानिसहरूको सहभागिता न्यून रहेको छ भन्ने गुनासो छ। प्राज्ञिक क्षेत्रका गैरआवासीय नेपालीहरूलाई पनि आफ्नो ज्ञान र क्षमता देखाउने यो अवसर हो नेपालका राजनीतिज्ञ र एनआरएनका नेताहरूसँग गुनासो गरेर बस्नु भन्दा आफैले केही गरेर देखाउने बेला आएको छ। यस्तो सम्मेलनमा हरेक दुई वर्षमा नेपालमा आयोजना हुने भएकोले यस सम्मेलनमा भाग लिन नसक्नु हुनेहरूको भविष्यमा सहभागिता हुनेछ भन्नेमा हामी विश्वस्त छौ। ज्ञान, सिप, पुँजी र राजनीतिलाई हामीले सँगै लिएर जान सके मात्र परिवर्तन सम्भव छ। त्यसैले पहिलो पटक आयोजना हुन लागेको यस सम्मेलन सफल पार्न सबै गैरआवासीय नेपालीहरूलाई अनुरोध गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू