अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

रक्षा मन्त्री पोखरेलसँग भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसंग भेट

बिआरटीनेपाल २०७५ असोज १२ गते ६:५० मा प्रकाशित

सम्माननीय कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री श्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारतका पेट्रोलियम, प्राकृतिक ग्याँस, सीप तथा उद्यमशीलता विकास मन्त्री माननीय श्री धर्मेन्द्र प्रधानले शिष्टाचार भेट गर्नुभयो । 

सम्माननीय कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्रीले भारतका माननीय पेट्रोलियम¸ प्राकृतिक ग्याँस, सीप तथा उद्यमशीलता विकास मन्त्रीलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल र भारतबिच लामो समयदेखि अत्यन्त घनिष्ठ र सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको र यस किसिमको भ्रमणले दुई मुलुकबिच रहेको मैत्री सम्बन्धलाई थप प्रगाढ र गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा भारतका माननीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रीले भारतले नेपाललाई डिजेल, पेट्रोल, एलपिजि ग्याँस लगायतका पेट्रोलियम पदार्थ निरन्तर उपलब्ध गराउँदै आएको र पेट्रोलियम पदार्थको सहज र सरल आपूर्तिका लागि भारत सरकारको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने कार्य द्रुत गतिमा अघि बढिरहेको कुरा जानकारी गराउनुभयो । उहाँले सो पाइपलाइन निर्माण कार्य सम्पन्न भएपछि भारतबाट नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिलाई थप चुस्त, गुणस्तरीय र व्यवधानरहित बनाउन ठुलो सहयोग मिल्ने विचार समेत व्यक्त गर्नुभयो ।

सम्माननीय कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्रीले प्रस्तुत पाइप लाइन निर्माण आयोजनालाई नेपाल र भारतबिचको सहयोगको यौटा अनुपम उदाहरणको रूपमा उल्लेख गर्नुहुँदै भारत सरकारले पेट्रोलियम पाइप लाइन निर्माण गर्न उपलब्ध गराएको अमूल्य सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । निर्माणाधीन सो आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न नेपालको तर्फबाट गर्नुपर्ने आवश्यक सबै सहयोग उपलब्ध गराउन नेपाल सरकार दृढ रहेको विचार उहाँले व्यक्त गर्नुभयो । साथै, नेपालमा दर्ता भएका एल् पी जी ग्याँस ढुवानी गर्ने सवारी साधन (ग्याँस बुलेट) लाई भारतको सीमावर्ती सहरबाट नेपालमा निर्बाध रूपमा ग्याँस ढुवानीका लागि अनुमति प्रदान गरिदिन आवश्यक सहयोगका लागि समेत उहाँले भारतका मन्त्रीलाई अनुरोध गर्नुभयो ।

भेटवार्ताको क्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्रीले भारतीय सहयोगमा हेटौडामा निर्माण हुने नेपाल–भारत मैत्री पोलिटेक्निक इन्स्टिच्युटको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको विचार समेत व्यक्त गर्नुभयो ।

शिष्टाचार भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत श्री मञ्जीव सिंह पुरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयका साथै नेपाल र भारतका आयल निगमका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू