अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरीद प्रकरणको छानविन गर्ने

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:४३ मा प्रकाशित

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ ।

समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।

उहाँहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । सांसदले महालेखा परीक्षकको लेखा परीक्षणको प्रभावकारिताका सम्बन्धमा समेत चासो राखेका थिए ।

महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने समिति सभापति भरतकुमार शाहले जानकारी दिनुभयो ।

बैठकमा हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण कायस्त, धर्माशिला चापागाईलगायतले वाइडबडी विमान खरीद अनियमितता, बेरुजु फछ्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू