अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

चितवनसम्म पेट्रोलियम पाइपलाइन र अमलेखगन्जसम्म ग्यास पाइपलाइन विस्तारबारे छलफल हुँदै

बिआरटीनेपाल २०७५ असोज १० गते २०:४१ मा प्रकाशित

पेट्रोलियम र ग्यास पाइपलाइन विस्तारबारे छलफल गर्न नेपाल र भारतका अधिकारीहरुको संयुक्त कार्यदलको बैठक काठमाडौंमा आजदेखि शुरु हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र उनका भारतीय समकक्षी सञ्जय सुधीरले द्विपक्षीय वार्ताको नेतृत्व गर्दैछन् ।

आजदेखि शुरु हुने वार्तामा नेपालले भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म निर्माण भइरहेको पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्नका लागि औपचारिक रुपमा प्रस्ताव गर्ने भएको छ । अहिले मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण भइरहेको ३७ किलोमिटर पेट्रोलियम पाइपलाइनको ५० प्रतिशत भौतिक प्रगति देखिएको छ । आगामी वर्ष यो परियोजना निर्माण सम्पन्न हुने भएकाले नेपालले सोही पाइपलाइन विस्तार गरी चितवन ल्याइदिन भारत सरकार समक्ष आग्रह गर्न लागेको हो ।
अमलेखजन्जदेखि लोथरसम्म ५९ किमी दूरीमा पाइपलाइन निर्माण गरी लोथर क्षेत्रमा पेट्रोलियम भण्डारण गर्ने नेपालको योजना छ । यसका लागि नेपाल आयल निगमले जग्गा खरिद पनि गरिसकेको छ । नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिदिने सम्बन्धमा भारत सकारात्मक देखिएको छ । यससम्बन्धमा नेतृत्व तहमा पनि छलफल हुन लागेको छ । यसका लागि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान बिहीबार नेपाल आउन लागेका छन् ।
त्यस्तै, नेपालले ग्यास पाइपलाइन विस्तारका लागि पनि भारतसँग आग्रह गर्ने भएको छ । अहिले भारतले मुजफ्फरपुरसम्म ग्यास पाइपलाइन विस्तार गरी त्यहाँ डिपो निर्माण गर्न लागेको छ । डिपो निर्माण भएपछि नेपाललाई सोही डिपोबाट आवश्यक ग्यास उपलब्ध गराउने सम्बन्धमा नेपाल आयल निगम र भारतीय आयल निगम (आइओसी)बीच सम्झौता पनि भैसकेको छ । अहिले आइओसीले नेपाललाई बरौनी, हल्दिया, मथुरा, उडिसाबाट समेत ग्यास उपलब्ध गराउँदै आएको छ । मुजफ्फरपुर डिपो सञ्चालनमा आएपछि नेपालले ग्यास ढुवानी गर्ने दूरी छोटो हुनेछ । तर नेपालले मुजफ्फरपुरबाट ढुवानी गर्नेभन्दा पनि मुजफ्फरपुरदेखि अमलेखगन्जसम्म पाइपलाइन विस्तार गरिदिन भारत सरकार समक्ष औपचारिक रुपमा प्रस्ताव गर्ने भएको छ । यदि यी दुई परियोजना निर्माण भएको खण्डमा नेपालले ग्यास तथा पेट्रोलियम ढुवानीको लागत कम गर्न सक्छ भने आपूर्ति सहज र विश्वसनीय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू