अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति विरुद्ध आन्दोलन गर्ने निर्णय

बिआरटीनेपाल २०७५ असोज २ गते १०:३८ मा प्रकाशित

काठमाडौँ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति खारेजीको लागि सङ्घर्ष गर्ने निर्णय गरेको छ । एउटै देशमा दुई शिक्षा नीतिकै कारण गरिबका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर गर्दै अखिल क्रान्तिकारीले दोहोरो शिक्षा नीतिका साथै निजीकरण, माफिया करण र दलालीकरणविरुद्ध सङ्घर्ष गर्ने राष्ट्रिय सम्मेलनले निर्णय गरेको जनकारी दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न मङ्गलवार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष आलोक रायमाझीले राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुको साथै शैक्षिक क्षेत्रमा आगामी सङ्घर्षका कार्यक्रम तय गरेको जानकारी दिए । २२ औँ राष्ट्रिय सम्मेलनले शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगती, निजीकरण, व्यपारीकरण,दलाली करण, माफिया करण, भ्रष्टीकरणविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको रायमाझीले बताए ।

त्यस गरी शिक्षा क्षेत्रका दलाल तथा माफियाहरूको सूची तयार गरेर भण्डाफोर र कारबाही गर्ने, गैरकानुनी रूपमा सञ्चालित विदेशी शिक्षण संस्थाहरूलाई खारेजको लागि दबाबमूलक आन्दोलन गर्ने सम्मेलनले निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले शिक्षा क्षेत्रका आमूल परिवर्तनको लागि बलिदानपूर्ण सङ्घर्षमा जाने निर्णय गरेको बताए । वर्तमान सत्तारुढ दलकै नेताहरूको .निजी शिक्षामा लगानीको भएको कारण ८६ प्रतिशत लगानीको भएको कारण सरकारले अझ सार्वजनिक शिक्षालाई निरुत्साहित गर्ने भन्दै रायमाझीले त्यस विरुद्ध पनि सडक सङ्घर्षमा जाने सम्मेलनले निर्णय गरेको जानकारी दिए ।
त्यसै गरी ‘जनताका छोराछोरी–सबै अखिल क्रान्तिकारी’ र ‘एक शिक्षण संस्था, एक इकाई’ भन्ने नाराका साथ देशभर अभियानात्मक रूपमा साङ्गठनिक गतिविधि सञ्चालन गर्ने पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव कर्ण जीत बुढाथोकी ‘सुशील’ले प्रचण्डले एमाले करण गरेर माओवादी आन्दोलनमा पूर्णविराम नलगाउन चाहे पनि त्यो पूरा सम्भव नभएको बताए । उनले आफूहरूले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै अमूल परिवर्तनको लागि क्रान्तिकारी माओवादीहरू एकजुट हुने पर्ने बताए । महासचिव सुशीलले विद्यार्थी समाजका सचेत वर्ग भएको बताउँदै शिक्षा क्षेत्रका साथै देशकै आमूल परिवर्तनको लागि विद्यार्थीलाई सङ्घर्षमा होमिन आग्रह गरे । उनले छात्रामाथि बलात्कारका घटना घट्नुमा राज्य जिम्मेवार रहेको बताए ।

कार्यक्रममा बोल्दै सुशीलले दलाल पुँजीपति अर्थतन्त्रले समाजवादी नआउने भन्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने बताए । उनले राष्ट्रियताको लडाइँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीसँग सहकार्य गर्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य मेगबहादुर खत्री र पोलिट्ब्यूरो सदस्य पासाङ मुक्तानले असमान शिक्षाको खाडल बढ्दै गएको भन्दै त्यसको लागि आन्दोलन गर्ने बताए । सम्मेलनले रायमाझीको अध्यक्षमा १५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ । महासचिव सुन्दर रायमाझी, सचिव मनोज यादव, सहसचिव सुस्मिता कुलुङ, कमला बोहरा र कोषाध्यक्ष विनोद सुनाम रहेका छन् ।

प्रत्येक प्रदेशमा एक एक हुने गरी ७ उपाध्यक्ष बनाउनु सम्मेनलले निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू