अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

मलेसियामा विषाक्त मदिरा सेवन गर्दा ७ नेपाली सहित १५ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असोज २ गते ९:१३ मा प्रकाशित

मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा ७ नेपाली सहित १५ जनाको मृत्यु भएको छ । मलेसियामा सोमवार राजाको जन्मदिन भएकोले सार्वजनिक विदामा छुट्टी मनाउन उनीहरुले मदिरा सेवन गरेका थिए । क्वालालम्पुर क्षेत्रको सुनगाई बुलो, गोमबाक, काजाङ, क्लाङ र शाह आलम क्षेत्रमा मदिरा सेवन गरी बिरामी परेका ४८ मध्ये १५ जनाको मृत्यु भएको हो । विषाक्त मदिरा सेवनकै कारण थप ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । जसमा १५ जना नेपाली नागरिक रहेको बताइएको छ ।

क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ७ नेपालीसहित १५ जनाको मृत्यु भइसकेको र ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । मृत्यु हुनेमध्ये दुई जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङक्षेत्रका विभिन्न पसलबाट म्याण्डले ह्विीस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्वीस्की सेवन गरेका थिए ।

अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये एक मदिरा सेवन गरेको पाइएको छ । मलेसियामा सस्तो मूल्यका मदिराहरु नेपालीहरुको रोजाईमा पर्ने गरेको र बिरामी भएकामध्ये धेरै नेपालीनै रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू