अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

भाषा आयोगको प्रतिवेदनः नेपाली भाषा पलायन हुने खतरा

बिआरटीनेपाल २०७५ भदौ २१ गते ९:४४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले नेपाली भाषा पलायन हुने खतरा औल्याएको छ । आज आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले सो प्रतिवेदन वुझाउनुभएको हो । राष्ट्रपति भण्डारीले आयोगको कामका लागि धन्यवाद दिँदै प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई हस्तान्तरण गर्ने बताउनुभयो । संविधानको भाषासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित तहले काम गर्ने विश्वास उहाले व्यक्त गर्नुभयो ।

प्रतिवेदनमा संविधानको भावनाअनुसार भाषासम्बन्धी कार्य अघि बढ्न नसकेको उल्लेख छ । नेपालको संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने भनिएकामा हालसम्म कुनै काम भएको छैन । संविधानमा नेपाली भाषा कामकाजको भाषा हुने भनिएको छ । अध्यक्ष डा. अवस्थीले नेपाली भाषाको प्रयोग घट्दै गएको र पलायन हुने खतरातर्फ पनि ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

संविधानमा प्रदेशसभाले तोके अनुसारको भाषा प्रदेशको भाषा हुने भनिएकामा हालसम्म कुनै प्रदेशमा निर्णय हुन सकेको छैन । संविधानबमोजिम आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू