अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

पोखरामा फिल्म मेकीङ्ग वर्कशप हुँदै

बिआरटीनेपाल २०७५ भदौ १८ गते ७:३६ मा प्रकाशित

फिल्म लेखन र निर्माण सम्बन्धी शैक्षिक कार्यक्रम लिएर देश दौडाहामा रहेको कान्तिपुर फिल्म एकेडेमीको एक हप्ते फिल्म मेकीङ्ग वर्कशप यही भाद्र २४ गते देखी २९ गते सम्म पर्यटकीय सुन्दर नगरी पोखरामा हुने भएको छ । यो भन्दा अगाडी पोखरामा फिल्म सुटीङ्ग, फिल्म फेस्टीबल, अवार्ड कार्यक्रम तथा फिल्म कम्पीटीसनहरु हुँदै आइरहे पनि यो प्रकारको चलचित्र सम्बन्धी शैक्षिक कार्यक्रम सम्भवतः पहिलो पटक हुन लागेको हो ।

पछिल्लो समय फिल्म निर्माण र प्रदर्शन सम्बन्धी सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, वेभ सिरिज, म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम, युट्युब प्रोग्राम, कमर्सीयल भिडियो लगायतका प्लेटफर्ममा पनि राम्रो करियर र कमाई देखिन थालेपछि युवा पुस्तामा फिल्म मेकीङ्गमा थप चासो बढेको पाइएको छ ।

तर कतिपय ईन्डीपेन्डेन्ट न्यु फिल्म मेकरहरु रुचि र कन्सेप्ट भएर पनि फिल्म निर्माण सम्बन्धी सैद्धान्तिक तथा प्राविधिक ज्ञान नहुनाले काम गर्न नसकी रहेको समस्यालाई मध्यनजर गर्दै यो प्रकारको शैक्षिक अभियान सुरु गरिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए । 

पूर्वको बिर्तामोडबाट सुरु भएको वर्कशप इटहरी, हेटौडा, दाङ्ग, नारायण घाट पछि पोखरामा हुन लागेको हो । पोखरा पछि पनि बुटवल, नेपालगन्ज हुँदै धनगढीमा पुगेर वर्कशप सकिने बताइएको छ ।
मुख्यतया वर्कशप फोटोग्राफी, सिनेमाटोग्राफी, स्कृप्ट राईटीङ्ग, डाईरेक्सन र फिल्म निर्माणमा केन्द्रित हुनेछ । पोखरामा हुन लागेको उक्त वर्कशपको लागी हाइवे तथा कालो पोथीका राइटर अविनाश विक्रम शाह, हिफाजत, अन्दाज, दशगजा, मंगलम लगायत दर्जनौँ फिल्मका सिनेम्याटोग्राफर विष्णु कल्पित घिमिरे र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले प्रशिक्षण दिनेछन् र वर्कशपमा सहभागी विद्यार्थीहरूलाई हौसला तथा प्रोत्साहनको लागी कलाकार दीपकराज गिरी पनि जाने भएका छन् ।

चलचित्र सम्बन्धी इच्छा भएका र सिक्न चाहने जो कोहीले पनि वर्कशपमा सहभागी हुन सक्नेछन् । यस्ता प्रकारको वर्कशपले नयाँ पुस्तालाई फिल्म मेकीङ्गमा प्रोत्साहन गर्ने र उनीहरूको काममा प्रत्यक्ष असर देखिने गरेको पुरी बताए ।

प्रतिक्रिया