अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

नेपाल सधै हिन्दु राष्ट्र– राप्रपा अध्यक्ष कमल थापा

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:०९ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हिन्दुराष्ट्र पुर्नस्थापना हुने वताउनुभएको छ । प्रदेश नं. १ स्तरीय ‘हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’ को विराटनगरमा शुभारम्भ गर्दै अध्यक्ष थापाले सो ठहर गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न रातारात हिन्दुराष्ट्र हटाएर धर्म निरपेक्ष बनाएको उल्लेख गर्दै राजनीतिक रुपबाट भएको परिवर्तनलाई राजनीतिक रुपबाटै परिवर्तन गर्न राप्रपाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको स्पष्ट पार्नुभयो । ‘नेपाल हिजो पनि हिन्दुराष्ट्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले आज पनि हिन्दु राष्ट्र रहेको र भोली पनि रहने जिकिर गर्नुभयो ।

हिन्दुराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएकोले नेपाली बीचको एकतालाई बलियो बनाउन हिन्दुराष्ट्र अपरिहार्य भएको उल्लेख गर्दै अध्यक्ष थापाले केन्द्रबाट सुरु भएको हिन्दुराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश, जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने जानकारी दिनुभयो ।

वैदिक मूल्य र मान्यताअनुसार राज्य चल्नुपर्दछ भन्ने मान्यताका साथ राप्रपाले विदेशी वादको सट्टा राष्ट्रवाद र सम्बर्धनवादलाई दर्शन मानेर नै हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलन सुरु गरेको बताउँदै अध्यक्ष थापाले यो आन्दोलनलाई साथ दिएर सफल बनाउन सम्पूर्ण नेपालीहरुमा आग्रह गर्नुभयो । हिन्दु धर्मको उद्गमस्थल रहेको नेपाललाई अमुक व्यक्तिहरुको स्स्वार्थसिद्धीकै कारण मुलुकको पहिचान गुम्न नदिन देशमा विद्यमान राजनीतिक पार्टीहरुमध्ये राप्रपाले मात्र हिन्दुराष्ट्रको एजेण्डा बोकेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख राजेन्द्र लिङदेनले सदियौंदेखि नेपालको पहिचानको रुपमा रहेको हिन्दुराष्ट्र पुनःस्थापना गर्न पार्टीले सुरु गरेको आन्दोलनलाई साथ दिन सबैमा आग्रह गर्दै जनताको साथ र सहयोगले संवैधानिक बाटो बाट नै हिन्दुराष्ट्र पुनःस्थापित हुने ठोकुवा गर्नुभयो । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्षहरु, प्रदेश अन्तर्गतका पार्टीका केन्द्रीय सदस्यहरु, धार्मिक गुरुहरुलगायत हिन्दुराष्ट्र समर्थक जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू