अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

जनभावना अनुसार चल्न विद्युत प्राधिकरणका कर्मचारीलाई उर्जामन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७५ भदौ १ गते ९:२० मा प्रकाशित

नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जनभावना अनुसार चल्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विद्युत प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावना अनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराउनुभएको हो ।

मन्त्री पुनले जनताको सेवक हुँ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी पनि दिनुभएको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीहरुले जनताको आवाज नसुनेको गुनासो आफूसँग आएको उल्लेख गर्दै त्यस्ता कर्मचारीलाई पदबाट हटाउन सकिने वताउनुभयो ।
राम्रो काम गर्ने कर्मचारीलाई जनताले पनि सम्मान गर्ने गरेको उहाको भनाई थियो । मन्त्री पुनले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी कामलाई अघि बढाउन पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरे प्राधिकरणको औंचित्य नहुने मन्त्री पुनको भनाई थियो ।

कार्यक्रममा वोल्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव एवम् प्राधिकरणका अध्यक्ष अनुपकुमार उपाध्यायले नागरिकलाई गुणस्तरीय सेवा वृद्धिमा ध्यान दिन प्राधिकरणलाई सचेत गराउनुभयो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको बार्षिक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो ।

घिसिङ्गले विद्युतको नियमित आपूर्ति र चुहावट नियन्त्रण नै एक वर्षको मुख्य अभियान भएको जानकारी गराउनुभयो । प्राधिकरणले यस वर्ष १ अरव १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नियमित विद्युत आपूर्ति र चुहावट नियन्त्रणका कारण प्राधिकरणले सो मुनाफा आर्जन गर्न सफल भएको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू