अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

नेकपा विप्लव समुहको नेपाल वन्द, जनजीवन प्रभावित- देशभरबाट २६ बन्दकर्ता पक्राउ

बिआरटीनेपाल २०७५ साउन २९ गते ८:५७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले आव्हान गरेको नेपाल वन्दको कारण आज मुलुकका अधिकांश स्थानको जनजीवन प्रभावित वनेको छ । नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतका नेता कार्यकर्तालाई पक्राउ गरिएको विरोधमा आज नेपाल बन्द घोषणा गरिएको हो । केही समयअघि, सरकारले नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह, गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल लगायतका लाई गिरफ्तार गरेको थियो ।

आफू विरुद्ध सरकार पछिल्लो समय कडा रुपमा प्रस्तुत भएपछि त्यसको विरोधमा पनि नेकपाले वन्दको आव्हान गरेको हो । वन्दको कारण आज देशभर लामो, छोटो दुरीका कुनैपनि सार्वजनिक सवारी साधनहरु चलेनन् भने निजी सवारी साधनपनि अन्य दिनको तुलनामा निकै कम संचालन भए । तर, वन्दकै वीच अत्यावश्यक सेवाका सवारी साधनहरु भने संचालनमा आएका थिए ।

वन्दका कारण उद्योग ,कलकारखाना, व्यापारिक प्रतिष्ठान र शिक्षण संस्थाहरु समेत संचालन भएनन् । नेकपाले आजको बन्द सहित चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । प्रकाण्डको रिहाई नभएसम्म आफ्नो आन्दोलन चलिरहने नेकपाले जनाएको छ । नेकपाले आव्हान गरेको वन्दको कारण आज पोखराको जनजीवन पनि प्रभावित वनेको छ । वन्दकै दौरान पोखराको लेखनाथ, तालचोक नजिकै धर्मकाँटामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । नेपाल आर्मीको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिनुभयो । आजको वन्दको क्रममा पोखरामा बन्दकर्ता सड्कमा देखिएनन् तर सुरक्षा संवेदनशीलता लाई मध्यनजर गदै शहरका मुख्य चोकहरुमा सुरक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

बन्दका क्रममा तनहुँमा एक ठाउँमा विस्फोटक पदार्थ विस्फोट र अर्को ठाउँमा नक्कली प्रेसर कुकर बम भेटिएको छ । तनहुको व्यास ११ स्थित छिर्कने नजिक विस्फोटक पदार्थ विस्फोट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसैगरी, दमौली– पोखरा सडक खण्ड अन्तरगत म्याग्दे गाउँपालिकाको बडहरे स्थित पृथ्वीराजमार्गमा नक्कली प्रेस कुकर बम भेटिएको छ । विस्फोटक पदार्थलाई डिस्पोज गरिएको छ ।

यसैवीच, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको बन्दमा संग्लन भएको आरोपमा प्रहरीले देशैभरीबाट २६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बन्दकर्ताले १७ जिल्लामा नक्कली र सक्कली बम राखेर आंतक सिर्जना गरेको जनाईएको छ । जसअन्तर्गत, ८ जिल्लाका सार्वजनिक स्थानमा नक्कली बम राखिएको थियो भने ९ जिल्लामा राखिएका सक्कली बम प्रहरीले डिस्पोज गरेको थियो ।

प्रहरीका अनुसार काठमाडौंमा ४ वटा नक्कली र १ वटा सक्कली बम सार्वजनिक स्थानमा फेला परेको थियो । त्यस्तै भक्तपुरमा २ सक्कली बम र ललितपुरमा ६ नक्कली र १ सक्कली बम निस्क्रिय पारिएको थियो । काठमाण्डौं उपत्यकामा बम बोकेर हिँड्ने २ जना सहित अन्य ७ जना पक्राउ परेका छन् ।

लमजुङ जिल्लाको राइनास नगरपालिका ५ सिम्ले र कैनीटारमा वन्दको दौरान सुतली वम फेला परेका छन । मंगलबार बिहान फेला परेको दुई वटा सुतली बम सेनाले निष्क्रिय पारेको छ । उदिपुरस्थित सेनाको श्रीजंग गणबाट गएको बम डिस्पोजल टोलीले विस्फोटक पदार्थ निष्क्रिय पारेको प्रहरीले जनाएको छ । यसैगरी, चितवनमा वन्द गराउदै हिंडेका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका क्रममा नेकपाका कार्यकर्ताले मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा मंगलबार बसमा आगजनी गरेको छन् । त्रिभुवन राजपथअन्तर्गत पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको भन्सार छुटेको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू