अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

टान पोखराको रजत महोत्सव सहित साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २६ गते ९:०२ मा प्रकाशित

पोखरा कास्की, ट्रेकिङ्ग एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराको १५ औ अधिवेशन तथा २५ औ वार्षिक साधारण सभा एवं रजत महोत्सव वर्ष २०७४/७५ कार्यक्रम शनिवार माउन्ट कैलाश होटेल लेक साइड पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । 

प्रदेश नं ४ गण्डकी प्रदेशको मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्य एवं माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाको प्रमुख लगायत, पश्चिमाञ्चल टानको पूर्व अध्यक्षहरूको विशेष आतिथ्यमा खुल्ला सत्रको कार्यक्रम सम्पन्न भएको थियो ।

“पर्यटकहरूको चाप भित्रिँदै गर्दा अन्नपूर्ण गाउँपालिकामा विशेष गरी होटेलको सही व्यवस्थापन गर्न नसकेकोले यसलाई चुस्त बनाउन प्रदेश सरकारसँग जोडदार माग गर्दछु” भन्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले कार्यक्रममा आफ्नो भनाई राख्नुभयो । साथै स्थानीय तहले कुनै पनि विदेशीसँग पैसा उठाउन हुँदैन भनेर पहिलो पटक एकद्धार प्रणालीको आवाज अन्नपूर्ण गाउँपालिकाले उठाएको कुरा पनि मन्तव्यको क्रममा राखेका थिए ।

“यो क्षेत्रको आर्थिक उन्नतिको श्रोत पर्यटन हो र पर्यटन क्षेत्रलाई द्रुत गतिमा अघि बढाउनलाई व्यवसायीलाई ब्यांकले अति न्यून ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । त्यसको निम्ति सरकारले अहमद भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ ” भन्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले आफ्नो भनाई राखेका थिए । 

यसैक्रममा रजत महत्त्व वर्षका संयोजक एबमं टान पश्चिमाञ्चलका सल्लाहकार डम्बर के.सी.ले “टानले स्थापना कालदेखि नै विभिन्न चुनौतीहरूलाई सूक्ष्म ढङ्गले नियाल्दै समाधान गर्दै अघि बढिरहेको छ । व्यवसायीहरूको हक र हितको निमित्त यो संस्थाले खेल्नुपर्ने अहमद भूमिका खेल्दै २५ औ रजत महोत्सवको सँघारमा आइपुग्दा गर्व लागेको छ र हाल सरकारले पछिल्लो नीतिमा विभिन्न ठाउँपिच्छेको स्थानीय करप्रणालीलाई हटाउँदै वान डोर सिस्टममा जानुपर्छ“ भनी कार्यक्रममा आफ्ना भनाई राखेका थिए ।

उक्त खुल्ला सत्र कार्यक्रममै मुख्यमन्त्रीका सामु पश्चिमाञ्चल टानका सचिव शुशिलराज शर्माले संस्थाको प्रगति प्रतिवेदन वाचन गरेर सुनाएका थिए । व्यवसायीहरूको लागि व्यवस्थापन तालिम, इ मार्केटिङ सम्बन्धी तालिम, रजत महोत्सव भ्रमण, नयाँ पदमार्गहरुको पहिचान सम्बन्धी ३६ वटा उपलब्धीमुलक प्रगति विवरण र ०७५/०७६ को नीति तथा कार्यक्रमहरू समेत कार्यक्रममा वाचन गरेका थिए ।

प्रमुख अतिथि मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले “टान पश्चिमाञ्चलले उठाएको एकद्धार कर प्रणालीको मागलाई हामीले सकारात्मक रूपमा लिएका छौ र यसलाई कार्यन्वयनमा ल्याउनको लागि केही समय धैर्य गर्नुपर्ने छ” भन्दै कार्यक्रममा बोलेका थिए ।

“देश समृद्ध हुनलाई पैसा कमाउनु मात्र महत्त्वपूर्ण होइन । तर त्यहीसँग जोडिएर आएको सामाजिक, सांस्कृतिक, शैक्षिक साथै भौतिक पूर्वाधारको विकास सँग सँगै लगेर मात्र देश विकाश हुन्छ । त्यही अनुरूपमा हाम्रो प्रदेशको पनि विकास हुने छ । पर्यटन क्षेत्रलाई चुस्त बनाउनलाई विकासको निमित्त सरकार र व्यवसायीहरूको उच्च समन्यव हुन जरुरी छ । टान पश्चिमाञ्चलले सम्पूर्ण व्यवसायीहरूको कुरालाई प्रतिनिधित्व गरी अघि बढाई रहेको सम्पूर्ण कामहरू प्रशंशनीय छन् र आगामी दिनमा पनि अझ धेरै परिष्कृत हुँदै अघि बढ्नु कुरामा विश्वस्त छु ।” भन्दै आफ्नो कुरा राखेका थिए ।

यसैक्रमा कार्यक्रमका सभापति एवं टान पश्चिमाञ्चलका अध्यक्ष दीपकराज अधिकारीले “वर्तमान देशको भौतिक विकासको अवस्था र विभिन्न किसिमको अन्य कर उठाउने प्रणालीहरूलाई अवलम्बन गर्दैै लैजाने हो भने पर्यटन बढ्ने हैन घट्ने अवस्था मैले देखेको छु र पर्यटन जस्तो संवेदनशील व्यवसायले सरकारले अति ध्यान पुर्याउन जरुरी छ” भन्दै कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू