अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड पक्राउ, नेकपा विप्लव आक्रोशित, नेपाल बन्दसहितका विरोधका कार्यक्रम घोषणा

बिआरटीनेपाल २०७५ साउन २३ गते ९:१८ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ पर्नुभएको छ । जर्वजस्ती चन्दा संकलन गरेको अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काठमाण्डौंले जनाएको छ । झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा पक्राउ पर्नुभएका विश्वकर्मालाई काठमाण्डौं जिल्ला अदालतले ५ दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न आदेश दिएको छ । विश्वकर्मालाई काठमाडौं प्रहरीले चन्दा ऐनअन्तर्गत कारबाही र मुद्दा चलाउने तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभएको छ ।

पूर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्री विश्वकर्मालाई काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । नेपाल कम्युनिष्ट पाटीका नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६८ सालमा मन्त्री वन्नुभएका विकलाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका समयमा विस्फोट लगायतका घटना गराएको आरोपमा समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँलाई महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । केहीदिन अघिमात्रै सो पार्टीका ४ जना पोलिटब्यूरो र १ जना केन्द्रीय सदस्यलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

यसैवीच, आफ्ना नेता पक्राउको विरोधमा नेकपा विप्लवले ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि नेकपा विप्लव सरकारप्रति आक्रोशित वन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा साउन २५ गतेदेखि २९ गतेसम्म नेपाल बन्द सहितका का विरोधका कार्यक्रम घोषणा गरिएको छ ।

विज्ञप्तिमा साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ । विप्लवले काठमाडौँको दक्षिणकालीबाट स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको दावी पनि गर्नुभएको छ । विप्लवले विनाशर्त नेताहरुलाई रिहाइ नगरे पार्टीले फासीवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।

यसैवीच, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ परेको विषयलाई लिएर नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पनि आपत्ति जनाउनुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै वैद्यले आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई विनाकारण गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण, निन्दनीय र दुःखद विषय भएको उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू