अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

जाजरकोटको ठाँटीवजारमा पहिरो, ९ जनाको मृत्यु, ६५ घर उच्च जोखिममा

बिआरटीनेपाल २०७५ साउन २० गते ८:४८ मा प्रकाशित

जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ । अविरल वर्षपछि आएको पहिरोमा पुरिएर जाजरकोटको भेरी नगरपालिका ३, ठाँटीबजारमा १ महिला सहित ८ बालबालिकाको मृत्यु भएको हो । एक सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय तीर्थराज बोहरा र जीतबहादुर सुनारको घर पुरिंदा उनीहरुको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

शनिवार रातिको लगातारको वर्षा पछि आएको पहिरोमा पुरिएर घरमुली तीर्थ राज बोहराकी छोरी ५ बर्षीय नजिता बोहरा, घरमा डेरा गरी बस्ने भेरी नगरपालिका ६, गंगटीयाका लालबहादुर लुहारकी २५ बर्षीय श्रीमति सितल, उनका छोरीहरु ९ बर्षीय भगवती, ६ बर्षीय रञ्जना र ३ बर्षीय मनिसाको मृत्यु भएको हो । त्यस्तै पहिरोमा पर्दा जीतबहादुरको घरमा डेरा गरी बस्ने कुशे ५, खुर्पाका प्रेमबहादुर परियारका १२ वर्षीया छोरा नरेन्द्र, कुशे ६ भार्मका कृष्णबहादुर परियारका १० वर्षीय छोरा नविन, नलगाड नगरपालिका ३ करुवाका जीतबहादुर परियारका ५ वर्षीय छोरा दशरथ र १२ वर्षीय छोरा गोविन्दको मृत्यु भएको छ ।

पहिरोले तीर्थराजको घरमा डेरा गरी बस्ने एकै परिवारका ४ जनाको मृत्यु भएको हो । पहिरोले घर भत्केपछि पुरिएका ३५ वर्षीय लालबहादुरको स्थानिय वासिन्दा र प्रहरीको सक्रियतामा डेढ घण्टा पछि जिवितै उद्धार गरिएको थियो । कम्मर र हातमा चोटपटक लागेका लालवहादरको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ । उद्धार कार्यमा ढिलाई हुँदा पहिरोमा पुरिएका अन्य सबैलाई तत्काल उद्धार गरी वचाउन नसकिएको स्थानिय वासिन्दाले वताएका छन ।

पहिरो खसेको डेढ घण्टा पछि मात्र सेनातथा प्रहरी लगाएतको उद्धार टोली घटनास्थल पुगेको थियो । घटना स्थलदेखि २ सय मिटरमा प्रहरी चौकी, १ किलोमिटरको दूरीमा जिल्ला प्रहरी तथा सशस्त्र प्रहरी, ५ सय मिटरको दूरीमा जिल्ला प्रशासन कार्यालय र २ किलोमिटर टाढा नेपाली सेनाको ब्यारेक भएपनि उद्धारमा ढिलाई भएको स्थानिय वासिन्दाहरुले जनाएका छन । पहिरो खसेको ५ मिनेटमै जताततै खबर भएपनि सम्बन्धित पक्ष घटनास्थलमा आउन ढिला भएको उनीहरुको भनाई छ ।

उद्धारकर्मीलाई पहिरोमा पुरिएकाको शव निकाल्न २ देखि ८ घण्टा लागेको प्रहरीले जनाएको छ । पहिरोको कारण ठाँटीबजारका किशोर खत्री, कर्ण खत्री, कर्णबहादुर शाही, प्रेमबहादुर शाही, प्रकाश विक, कमल रावत, अर्जुन पुन, आशे कामी, कुमारो नेपाली, ओमजंग शाह, तेज विक्रम शाह लगायतका १७ घर उच्च जोखिममा परेको जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले जानकारी दिनुभयो । पहिरोका कारण खलंगाबजारका ६५ घर उच्च जोखिममा परेको खतिवडाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू