अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

पाँच वर्षभित्र नेपाल वायुसेवा निगमसँग २१ जहाज हुने पर्यटन मन्त्रालयको दावी

बिआरटीनेपाल २०७५ साउन १७ गते ८:३५ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता अझै विस्तार गर्ने जनाएको छ । मन्त्रालयका अनसार निगमसंग आगामी ५ वर्षभित्र ६ वटा अन्तर्राष्ट्रिय र १५ वटा आन्तरिक उडान भर्ने जहाज हुनेछन् ।
सन् २०२० लाई नेपाल पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरिएपछि आवश्यक लक्ष्य प्राप्तिका लागि अपनाउनु पर्ने कार्यदिशा तय गर्न पर्यटन मन्त्रालयले बिहीबार प्रदेश, संघ र अन्य सरोकारवाला निकायसँग गरेको अन्तरक्रियामा यस्तो जानकारी दिईएको हो ।

छलफलमा मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले ‘नेपालमा पर्यटन क्षेत्रको विकासको पाँच बर्षे कार्यदिशा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय उडान भर्न निगमको आफ्नै १० वटा र आन्तरिक उडानका लागि १५ जहाज पु¥याउने वताउनुभयो ।
नेपाल वायु सेवा निगमसँग हाल १३ जहाज छन् । जसमा ५ जहाजले अन्तर्राष्ट्रिय र ८ साना जहाजले आन्तरिक उडान भर्दै आएका छन । जहाज थपेर नेपालको अन्तर्राष्ट्रिय हवाई व्यापारको ६० प्रतिशत हिस्सा ग्रहण गर्ने मन्त्रालयले लक्ष्य लिएको छ । त्यस्तै आन्तरिक उडानबाट दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई सहुलियत दरमा नियमित सेवा प्रदान गर्ने मन्त्रालयको गृहकार्य छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको हो । कार्यक्रममा वोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो लक्ष्य पूरा गराउने गरी नेपालको पर्यटन सुरक्षित, स्तरीय, आकर्षक र किफायती गन्तव्यको रुपमा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गरिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चीनियाँ पर्यटक आगमन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।१० वर्षमा ५० लाख पर्यटक भित्र्याउने र त्यसमध्ये चीनबाट ४० प्रतिशत पर्यटक भित्र्याउने आफूहरुको लक्ष्य रहेको मन्त्री खतिवडाको भनाई थियो । उद्योगमन्त्री मातृका यादवले पर्यटकको सुरक्षा र सेवा गुणस्तरीयतामा जोड दिनुभयो ।

कार्यक्रममा वोल्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले प्रदेश र स्थानीय तहसँग मिलेर नेपाल भ्रमण २०२० लाई सफल बनाइने वताउनुभयो । उहाँले पयर्टन र सांस्कृतिक क्षेत्रको विकासका लागि मन्त्रालय ५ वर्षे योजनासहित अघि बढेको जानाकारी
दिनुभयो । कार्यक्रममा सातै प्रदेशका पर्यटनमन्त्रीहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू