अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

भारतसँगको सहकार्य कार्यान्वयन, दुई पक्षीय संयन्त्र सक्रिय – प्रचण्ड

बिआरटीनेपाल २०७५ साउन १५ गते ८:२९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको वताउनुभएको छ । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले काठमाण्डौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका’ विषयक सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आपसी सम्बन्ध खुल्ला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउन आफूहरु प्रयत्नशील रहेको वताउनुभएको छ ।

नेपालको स्थिरता, शान्ति र समृद्धि भारतको पनि स्वार्थको विषय भएको तथा छिमेकीको सहयोग बिना नेपालको समृद्धि हासिल गर्न नसक्ने भएकाले दिगो विकास लक्ष्यको परिधिमा रहेर साझा गन्तव्य पहिल्याउन आवश्यक भएकामा प्रचण्डको जोड थियो ।
समान सार्वभौमसत्ता र साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले सिर्जना गरेको ताजा विश्वासलाई समेत आधार मानेर सहकार्य र सम्बन्धलाई गाढा बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दुई देशका प्रधानमन्त्री तहमा पछिल्लो समयमा भएको भ्रमण आदानप्रदानले सम्बन्ध सुध्रिएको बताउँदै दुई देशले गठन गरेको प्रबुद्ध वर्ग समूहले आपसी सम्बन्धलाई नयाँ इतिहासमा लाने गरी प्रतिवेदन दिने वताउनुभयो ।

भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले दुई देशबीच संस्कृति, सम्पर्क सञ्जाल र वाणिज्यलगायतका क्षेत्रमा नजिकको जनाउँदै नेपालको बहुमतको स्थिर सरकारले लोकतन्त्रलाई सफल बनाउने अपेक्षा व्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीको छिमेकी नीतिले निरन्तरता पाउने बताउँदै आपसी सम्बन्धलाई ज्ञानमा आधारित सम्बन्धका रुपमा पनि विकास गर्न सम्मेलनले योगदान दिने उहाँको विश्वास थियो । दुबै देशका बुद्धिजीवी सहभागी सम्मेलनमा विभिन्न सत्रमा राजनीतिक र बुद्धिजीवी क्षेत्रका प्रतिनिधिबीच अन्तक्र्रिया हुने जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू