अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

रक्तसञ्चार सेवाको ५२ औँ वर्ष पूरा

बिआरटीनेपाल २०७५ साउन १३ गते १६:४२ मा प्रकाशित

आर्थिक वर्ष २०७४/०७५ मा २ लाख ६२ हजार ४३९ युनिट रगत सङ्कलन गरिएको र ३ लाख ४४ हजार ९३३ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको छ । २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन हुँदाको वर्ष जम्मा १५७ युनिट रगत सङ्कलन गरिएको थियो । नेपालमा रक्तसञ्चार सेवाको ५२ औँ स्थापनाको दिनमा आज पुल्चोकमा आयोजित मूल कार्यक्रममा यो जानकारी दिइएको हो । 

रक्तवितरणको करिब एक चौथाइ काठमाडौँ उपत्यकामा नै हुने गर्दछ । केन्द्रीय रक्त सञ्चार व्यवस्थापन समितिका सभापति डा. युवराज शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख वक्ताको रूपमा नेरेसोका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो ः अहिले नेपालको ७३ जिल्लाका १०८ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा सकाइहरूको स्थापना भएको छ । सेवा तथा उत्पादनको उच्च गुणस्तर कायम राख्न नेपाल रेडक्रस सोसाइटी प्रयत्नशील छ । उहाँले लागतको आधारमा रगत उपभोक्ताले शुल्क तिर्नुपरेको वर्तमान अवस्थामा नेरेसोले आफ्नो कोषबाट रक्तसञ्चार सेवाको लागि वार्षिक डेडकरोड अतिरिक्त खर्च व्यहोर्नुपरेको अवस्था बताउँदै सरकारको सहयोग बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालाका प्रमुख हरिश्चन्द्र उप्रेतीले विगत ५२ वर्षदेखि नेपाल रेडक्रसले रक्तसञ्चार मार्फत जीवन जोगाउने सह्रानीय काम गरेको उल्लेख गर्दै रक्तसञ्चार सेवालाई थप व्यवस्थित बनाउन सरकारको तर्फबाट पूरा सहयोग हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य नरोत्तम वैद्य, आइसीआरसीका प्रवेश पौडेल, आइआफसीका जुजा किम, नेरेसोका उपाध्यक्ष अजीत कुमार शर्मा, महामन्त्री देवरत्न धाख्वा, उप महामन्त्री हरिप्रसाद न्यौपाने, व्लोदानका कार्यवाहक अध्यक्ष रमेश ध्वज बस्नेतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठमाडौँमा केन्द्रीय रक्तसञ्चार सेवाको अतिरिक्त विराटनगर, पोखरा, नेपालगन्ज, कैलाली र चितवन गरी ५ स्थानमा क्षेत्रीय रक्त सञ्चार सेवा सञ्चालन भइरहेको जानकारी नेरेसोका सञ्चार अधिकृत दिव्य राज पौडेलले दिनुभयो । पौडेलले भन्नुभयो ः २२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालमा रक्त सञ्चार सेवा एकाइको स्थापना गरी रक्त सञ्चार सेवा प्रदान गरिएको छ ।

सम्मान तथा पुरस्कार वितरण:
रक्त दाता उत्प्रेरणा तथा रक्तसंकलन कार्यमा सक्रिय हुने सँघसँस्थालाई सो अवसरमा सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा नियमित साप्ताहिक रक्तसँकलन गर्ने पशुपति मारवाडी सेवासँग, गणेशमान सिंह अध्ययन प्रतिष्ठान, लायन्स क्लब अफ चावहिल तथा रेडक्रसका चावहिल उपशाखा रहेका छन् । त्यस्तै वर्षभरि धेरै पटक रक्तदान आयोजना गर्ने तथा धेरै युनिट रक्तसंकलन गर्ने ब्लड डोनर्स एसोसिएसन अफ नेपाल, स्वयंसेवक रक्त दाता समाज, फ्रेण्डस अफ आर.एच. नेगेटिभ, लायन्स क्लब अफ लालीगुराँस, दीर्घायु अस्पताल, नेपाल रेडक्रस सोसाइटी महाबौद्ध उपशाखा, चाबहिल उपशाखा, गण बहाल उपशाखा, बह्मटोल उपशाखा, फ्रेण्डस क्लब अफ बलम्वु, सत्य साइ सेवा सङ्गठन, लायन्स क्लब, ट्रीनिटी कलेज, हेडस् नेपाल लगायत छन् ।

स्वैच्छिक र अवैतनिक रक्तदान:
रक्त सङ्कलन स्वैच्छिक र अवैतनिक रक्तदानमा आधारित बनाइएको रेडक्रसका रक्तसञ्चार प्रमुख डा. मनिता राजकर्णिकारले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिनुभयो ।

नेपालको रक्तसञ्चार सेवाको पहिलो १५ वर्ष रगतको किनबेच गर्ने पेशेवर व्यक्तिहरूबाट, मजदुरहरूबाट रगत सङ्कलन ज्यादा हुने गर्दथ्यो । २०३९/०४० सालदेखि त्यस्ता व्यक्तिहरूबाट रगत नलिई स्वयंसेवक रगतदाताहरूको सङ्ख्यामा वृद्धि गरी रगत सङ्कलनलाई तीव्रता दिइएको थियो । त्यसपश्चात्, संस्थागत रूपमा रगत दान गर्नेहरूको अभिरुचिमा वृद्धि भएको छ र अहिले विभिन्न सङ्घ–संस्था तथा निकायहरूद्वारा आयोजित घुम्ती रक्तदान कार्यक्रमबाट रगत सङ्कलन बढ्दै गइरहेको छ ।

केन्द्रीय रक्त सञ्चार केन्द्रको तथ्याङ्क अनुसार यस वर्ष केन्द्रीय सेवाकेन्द्रमा जम्मा ६२ हजार तीन सय रक्तसँकलन भएकोमा ५० हजार ६ सय रगत स्वयंसेवक रक्तदाताबाट सङ्कलन गरिएको हो । यसरी अझै १८ प्रतिशत रगत सेवा बिरामीका आफन्त वा साथीबाट सोध भर्ना गर्नुपरेको अवस्था छ । तर, रक्तविवरणको तथ्याङ्क हेर्दा सोध भर्ना गरी वितरण गरिएको करिब १२ प्रतिशत छ ।

महिला रक्त दाता अझै कमी:
केन्द्रीय रक्त सञ्चार सेवाद्वारा ६२,३५३ युनिट रक्त सङ्कलन गरिएको मध्ये ५२,२८५ युनिट पुरुष रक्तदाताबाट र १०,०६८ युनिट महिला रगतदाताबाट सङ्कलन भएको छ । यो प्रतिशत ८३.८५ पुरुष र १६.१५ महिला हुन आउँदछ ।

नेगेटिभ रगत समूह ३ प्रतिशतको हाराहारीमा:
यस वर्ष गरिएको रगत समूहको विश्लेषण अनुसार नेपाल भरमा ३ थोप्लो १० प्रतिशत मानिसहरूको रक्त समूह ए, बि, ओ र ए बी नेगेटिभ रहेको छ । तर, उपत्यकामा भने नेगेटिभ रक्त समूह हुने मानिसहरू २ थोप्लो ९ प्रतिशत छन् । सबैभन्दा दुर्लभ एवी नेगेटीभ समूह परेको छ जसको भार शून्य थोप्ला ४२ प्रतिशत रहेको छ । यसबर्षका रक्तदातामध्ये एचआइभी पोजेटिभ हुने ६६ जना देखिएको छ । हेपेटाइटिस बि र सी देखिएका दाताहरूको सङ्ख्या क्रमशः ४६६ र ३५१ रहेको छ ।

सँघसँस्थाको सहयोग बढ्दो:
आ.व. २०७४/०७५ मा नेपालभरिमा विभिन्न सङ्घ–संस्थाहरूबाट ३,८३४ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रम भई रगत सङ्कलन गरिएको छ । जसमा, केन्द्रीय रक्त सञ्चार सेवाद्वारा मात्रै १२९८ पटक विभिन्न सङ्घ–संस्थाहरूबाट घुम्ती रगत सङ्कलन कार्यक्रम भएको छ ।
हेमोफिलिया सोसाइटीका बिरामीहरूलाई ३१६ युनिट रगत तथा रक्ततत्व सहुलियत शुल्कमा उपलब्ध गराइएको छ । थालेसेमिया सोसाइटीका बिरामीहरूलाई पनि २३०५ युनिट रगत तथा रक्ततत्व सहुलियत शुल्कमा उपलब्ध गराइएको छ ।

रक्तसञ्चार सेवाको चुनौतीहरू बढ्दो:
आधुनिक चिकित्साको विकास सँगै रगत र रक्ततत्वको माग पनि बढिरहेको छ । यसलाई परिपूर्ति गर्न बजेट सहितको राष्ट्रिय योजनाको खाँचो देखिएको छ । त्यस्तै, मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न निश्चित मापदण्डको प्रविधि तथा उपकरणको व्यवस्था गर्न कठिनाइ भइरहेको छ । सरकारी नियमित खर्च उपलब्ध भएमा माग अनुसार आपूर्ति गर्न र लागत खर्च परिपूर्तिको आधारमा सञ्चालित यस सेवाको शुल्कमा एकरुपता कायम गर्न सकिने कार्यक्रमका वक्ताहरूले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू