अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

निगमको दोस्रो वाइडबडी “मकालु” नेपाल भित्रियो

बिआरटीनेपाल २०७५ साउन १० गते ९:५८ मा प्रकाशित

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  अवतरण गरेको छ ।विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा लिन फ्रन्स पुगेको थियो ।

विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गर्नुभएको थियो ।

विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । वाइड बढी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

निगमको पहिलो वाइड बढी विमानबाट आगामी साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्दैछ । दोस्रो विमान पनि हाललाई पुरानै गन्तव्यमा उडाइनेछ । पछि क्रमशः नयाँ गन्तव्यमा उडान भर्ने निगमको तयारी छ । दोस्रो वाइड बढी आएपछि आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक रुपमा उडान गर्ने तयारी गरिएको छ ।

निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ ।

हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ ।

एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई वटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू