अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

पोखरा उद्योग वाणिज्य संघले एक्सपो पोखरा आयोजना गर्ने, औद्योगिक व्यापार मेलाको आय व्यय सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन ७ गते ८:५२ मा प्रकाशित

पोखरा उद्योग वाणिज्य संघले गत वर्ष आयोजना गरेको ‘सफल राष्ट्रिय औद्योगिक मेला तथा दोस्रो मोवाइल मेला २०७४, पोखरा’ बाट १० लाखभन्दा बढी बचत गरेको जनाएको छ । आय व्ययबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलाबाट १० लाख ५५ हजार ९ सय बचत भएको जनाउनु भएको हो ।

उहाँका अनुसार मेलामा भएको प्रायोजन, टिकट बिक्री तथा स्टल भाडाबाट १ करोड १८ लाख २६ हजार ७ सय ९३ रुपैयाँ आम्दानी भएको तथा १ करोड ७ लाख ७० हजार ९ सय ६ रुपैयाँ खर्च भएको थियो । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मूल नाराका साथ गएको पुस २७ गतेदेखि माघ ८ गतेसम्म मेलाको आयोजना गरिएको थियो ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउनु मेलाको उदेश्य रहेको थियो । यसैगरी समग्र गण्डकी प्रदेशको ब्यवसाय बिस्तारको सम्भावनाको खोजीे तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित मेला आफ्नो उदेश्यमा सफल भएको अध्यक्ष पालिखेले दावी गर्नुभयो ।

मेलाको करिब १ लाख ८० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेको जिकिर गर्दै उहाँले टिकट काटेर मेला अवलोकन गर्नेहरुको संख्या भने ४८ हजार ४ सय ६० जना रहेको जानकारी दिनुभयो । अध्यक्ष पालिखेका अनुसार आन्तरिक राजश्व कार्यालय पोखरालाई मेलाबापत संघले ९ लाख ५२ हजार ४ सय ६९ रुपैयाँ नेपाल सरकारलाई प्रत्यक्ष कर बुझाएको जानकारी दिनुभएको छ ।

संघका अध्यक्ष पालिखेले समयानुकुल मेलालाई परिष्कृत गर्ने क्रममा यो पटक मेलाको नाम नै परिवर्तन गरी एक्सपो पोखरा राखिएको जानकारी समेत दिनुभयो । एक्सपो पोखराको पहिलो संस्करण यही आउँदो मंसिर १३ गतेदेखि २४ गतेसम्म आयोजना गरिने पनि उहाँले बताउनुभयो । आउँदो मंसिरमा आयोजना हुने मेलाको तयारी थालिएको अध्यक्ष पालिखेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू