अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

नेपालमा पर्यटक आगमनमा १३ प्रतिशतले वृद्धि

बिआरटीनेपाल २०७५ साउन ४ गते ९:३७ मा प्रकाशित

सन् २०१८ को पहिलो ६ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा ४ लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ । 

पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएको जनाएको छ । तुलनात्मक रूपमा कम पर्यटक आउने मौसममा पनि बाह्य पर्यटकको संख्या बढ्नुले उत्साहित बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । आगामी दिनमा प्रवद्र्धनात्मक गतिविधिलाई थप प्रभावकारी बनाइने जोशीको भनाई छ । 

पर्यटक वृद्धि हुनुको पछाडि निजी क्षेत्रले गरेको प्रयास सकारात्मक देखिएको छ । नेपालका व्यवसायीले भारतका विभिन्न शहरमा पर्यटन प्रवद्र्धनको काम गरेका छन् । पोखराका पर्यटन व्यवसायीले गर्मी छल्न ‘पोखरा आउनुहोस्’, अर्थात ‘चलो पोखरा’ जस्ता अभियान सञ्चालन गरेका छन् ।

यसैवीच, जुन महिनामा बंगलादेशी पर्यटकको संख्या अकस्मात् बढेको छ । विभागको तथ्यांकअनुसार सन् २०१८ को जुनमा १ हजार ८५० बंगलादेशी पर्यटक नेपाल आएका थिए  । सन् २०१७ को सोह महिनामा कूल ३ जना बंगलादेशी पर्यटक मात्र नेपाल आएका थिए।

पछिल्लो तथ्यांकअनुसार नेपाल आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । बोर्डका अनुसार पछिल्लो ६ महिनामा ९६ हजार ३७२ भारतीय पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको ६ महिनाको तुलनामा १९ प्रतिशतले बढी हो । 

यस्तै चीनबाट ७१ हजार हजार ३७९ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । प्रतिशतका आधारमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा ३४.१ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले विदेशमा रहेका कूटनीतिक नियोगलाई पनि नेपालका बारेमा प्रचारप्रसार गर्न र पर्यटकलाई नेपाल भ्रमणमा पठाउन आग्रह गरेको छ । विदेशका विभिन्न शहरमा नेपाल प्रवद्र्धनका कार्यक्रम भइरहेका छन् । गैरआवासीय नेपाली संघले समेत नेपाल प्रवद्र्धनका कार्यक्रम गरिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू