अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

नेपालको ६ वटा सहरहरूमा फिल्म मेकिङ वर्कशप हुँदै

बिआरटीनेपाल २०७५ साउन ३ गते ७:२५ मा प्रकाशित

काठमाडौँ भन्दा बाहिरका ठुला सहरहरूलाई सिनेमाको राम्रो बजारको रूपमा लिइन्छ । प्रदेश सरकार बनेसँगै मोफसलका विभिन्न सहरमा ठूलाठूला मल्टिप्लेक्स हल र थिएटर बन्ने क्रम पनि जारी छ । चलचित्र सम्बन्धी अवार्ड र फिल्म फेस्टिबलले पनि काठमाडौँ भन्दा बाहिरका सहरहरू रोज्न थालेका छन् र अधिकांश सिनेमाहरूले छायाङ्कनको लागि पनि काठमाडौँ भन्दा बाहिरका सहर नै जाने गरेका छन् । तर, आजसम्म चलचित्र सम्बन्धी शैक्षिक कार्यक्रम, वर्कशप तथा कक्षा उपत्यका भन्दा बाहिर जान सकेका थिएनन् तर अब भने चलचित्र निर्माण सम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्म मेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले इटहरी, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल र नेपालगन्जमा एक–एक हप्ते फिल्म मेकिङ वर्कशप सञ्चालन हुँदैछ । 

काठमाण्डौको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा हुन लागेको उक्त चलचित्र निर्माण सम्बन्धी वर्कशप इटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौँडामा भदौ १० गतेदेखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ गते देखि २२ गतेसम्म, पोखरामा भदौ २४ गतेदेखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म र नेपालगन्जमा असोज ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुँदैछ ।

सबै सहरमा बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म सैद्धान्तिक र व्यावहारिक तरिकाबाट वर्कशप सञ्चालन हुनेछ र चलचित्र निर्माण सम्बन्धी चासो भएको जो कोही पनि सहभागी हुन पाउनेछन् । काठमाडौँबाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् सामग्रीहरू ल्याई सञ्चालन गरिने वर्कशपबाट मोफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरूलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पुर्‍याउनेछ ।

पहिलो चरणको वर्कसपपछि बाँकी रहेका अन्य सहरहरूमा पनि यस्तै कक्षा सञ्चालन गरिने कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया