अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

इन्टरनेटमा लगाएको कर खारेजीको माग गर्दै नेविसंघद्वारा धर्ना

बिआरटीनेपाल २०७५ साउन २ गते ८:५५ मा प्रकाशित

 

नेपाल विद्यार्थी संघले सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत कर खारेजीको माग गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा धर्ना दिएको छ । नेविसंघले कर खारेजीको माग गर्दै आज दूरसञ्चार प्राधिकरणको कार्यालय, कमलादीमा धर्ना दिएको हो । थप कर र सेवा शुल्क गरेर इन्टरनेटमा करीब २५ प्रतिशत कर लगाएको भन्दै नेविसंघले विरोध जनाएको छ । 

कर वृद्धिले इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने भएकोले आफूहरु विरोधमा उत्रिएको नेविसंघका सभापति नैनसिंह महरले बताउनुभयो । सरकारले इन्टरनेटमा कर बढाएर जनतालाई सूचनाको सजिलो पहुँचबाट वञ्चित गराउन खोजेको उहाँले आरोप लगाउनुभएको छ ।

कम्युनिष्ट नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख देखिएको भन्दै नेविसंघले अहिले शान्तिपूर्ण संघर्ष गर्ने र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । सरकारी अस्पतालका डाक्टरलाई गृह मन्त्रालयमा केरकार गर्ने, नेपाली कांग्रेसले ल्याएको विधेयकलाई तोडमोड गरेर सरकार संवेदनशील नहुनुले सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको उसको ठहर छ ।

यस्तै सरकारले पेट्रोलियम पदार्थ र उपभोग्य वस्तुको मूल्यवृद्धि, विश्वविद्यालयका उपकुलपतिलाई प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरी बालुवाटारलाई बन्दीगृह बनाउने गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू