अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

डलरसँग नेपाली रुपैँया थप कमजोर, आजको सटहीदर ११०.०८ रुपैँया

बिआरटीनेपाल २०७५ असार १४ गते १०:०५ मा प्रकाशित

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ थप कमजोर भएको छ । आज (बिहीबार डलरको तुलनामा नेपाली मुद्रा १९ महिनायताकै कमजोर देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आजको लागि सटहीदर ११० रुपैयाँ ८ पैसा तोकेको छ । यसअघि २०७३ मङ्सिर १० मा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भई डलरसँगको सटहीदर ११० रुपैयाँ २८ पैसा पुगेको थियो ।

भारतीय रुपैयाँसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ भारतीय मुद्रा कमजोर हुँदा स्वतः कमजोर हुनपुग्छ । कच्चा तेलको मूल्यमा वृद्धि तथा भारतमा आयात वृद्धि भई चालु खाता घाटा तथा आयातको भुक्तानीका लागि डलरको माग उच्च हुँदा भारतीय रुपैयाँ थप कमजोर भएको हो । डलरको तुलनामा भारतीय रुपैयाँ आउँदो दिनमा अझै कमजोर हुनसक्ने विश्लेषण गरिएको छ ।

भारतमा आज एक डलर सटहीको दर ६७ रुपैयाँ ५७ पैसा तोकिएको छ । यद्यपि यो क्रम जारी रही प्रतिडलर ७० रुपैयाँ विनिमयदर कायम हुने अनुमान गरिएको छ । भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको नेपाली मुद्रा वैशाख यता ५ दशमलव २५ प्रतिशतले अवमूल्यन भैसकेको छ ।
आयातमा आधारित नेपाली अर्थतन्त्रका लागि डलर मजबुत हुँदा आयात महँगो हुन्छ । पहिले नै उच्च चालु खाता घाटा र शोधनान्तर स्थिति पनि कमजोर रहेको स्थितिमा डलर मजबुत हुनु नेपाली अर्थतन्त्रका लागि पक्कै पनि सुखद होइन ।

विदेशी ऋणको सावा ब्याज भुक्तानीमा बढी खर्च गर्नुपर्ने हुन्छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डलरमा आधारित विद्युत् खरिद सम्झौताका केही आयोजनाहरूमा बढी खर्च गर्नुपर्ने हुन्छ । हवाई टिकटहरू महँगो हुने तथा विदेशमा अध्ययन गर्न जानेहरुका लागि बढी खर्च गर्नुपर्ने हुन्छ ।

त्यस्तै, यस समय निर्यात बढाउन सके नेपालले बढी आम्दानी गर्न सक्छ । रेमिट्यान्स बढी भित्रन्छ किनकि रेमिट्यान्सग्राहीले पहिलेको तुलनामा बढी सटहीदर पाउँछन् । नेपाल डलरमा खर्च गर्ने पर्यटकका लागि सस्तो गन्तव्य हुन्छ किनकि डलरको खरिद क्षमता वृद्धि भएको छ । त्यस कारण नेपालले बढी पर्यटक भित्र्याई बढी विदेशी मुद्रा आर्जन गर्नेतर्फ सोच्नुपर्ने अर्थशास्त्रीहरू बताउँछन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू