अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

नेहारिका र युमिनाले जितिन् ‘चाईल्ड आइकन धरान’को ताज (फोटो/भिडियो सहित)

बिआरटीनेपाल २०७५ असार ११ गते १७:२९ मा प्रकाशित

ईटहरी, धरानमा पहिलो पटक आयोजना भएको ‘चाईल्ड आइकन’ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । धरानमा छरिएर रहेका २५ बढी स्कुलका झन्डै ३०० का हाराहारीमा स्कुले केटाकेटीहरूको उत्साहजनक सहभागिता रहेको थियो । अडिसन पश्चात् ६५ जना छानिएका मध्ये उत्कृष्टबाट सर्वोत्कृष्ट हुँदै नेहारिका लिम्बू र युमिना थुलुङले आइकनको ताज पहिरन सफल भइन । यो सँगै विजेता तथा उप विजेताहरूले अन्तर्राष्ट्रिय चाईल्ड आइकनमा सहभागी हुने सुनौलो मौकाको साथमा अमना ट्राभल एण्ड टुर्सको तर्फबाट टुर प्याकेज, युरेका स्कुल र सियोन स्कुल धरानको तर्फबाट छात्रवृत्ति समेत पाएका छन् । 

असार ९ गते शनिवार धरानस्थित भोटेपुलको सभागृहमा सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा प्रतिस्पर्धीको अभिभावक लगायत ५०० बढीको उपस्थिति रहेको थियो । करिब दिनको २:३० बाट सहभागी ६५ जनाको एकसाथ नृत्य सँगै सुरु भएको चाईल्ड आइकनको फाइनल कार्यक्रम साँझ ७ बजे सम्म चलेको थियो । विजेताको ताज पहिरिएकी नेहारिका सिनियर तर्फबाट विजेता हुन भने उनले फाइनल प्रश्नोत्तर राउन्डमा निर्णायकले सोधेको ‘तिमीले बाल आश्रममा सहयोग गरिसकेपछि त्यहाँबाट के सिक्यौ ?’ भन्ने प्रश्नमा ‘मैले यो कार्यक्रमबाट हामीले एकअर्का प्रति सहयोगी भावना राख्नुपर्छ । साथै अनाथ तथा समस्यामा परेका जो कोहीलाई जति सकिन्छ त्यति सहयोग गर्नुपर्छ । हामी भिन्न भिन्न मानिस भएतापनी हामीमा बग्ने रगत र रगतमा बग्ने रङ्ग एउटै हुन्छ । अन्त्यमा, राष्ट्र विकास गर्नको लागि मानिसको विकास गर्न जरुरी छ ।’ भन्ने जवाफ दिँदै विजेता बन्न सफल भएकी हुन् । उनी विष्णु मेमोरियल धरानमा कक्षा ७ मा अध्ययन गर्छिन् ।

जुनियर तर्फबाट विजेताको ताज पहिरिएकी युमिनाले पनि नेहारिकालाई नै सोधिएको प्रश्नको जवाफ ‘मैले धेरै कुरा सिके त्यो सहयोग देखी, मैले हाम्रो थोरै सहयोगले हामीले एउटा मानिसलाई सहारा दिन सक्छौ । र हामीले उनीहरूको लागि धेरै गर्न सक्छौ । र हाम्रो सानो हेल्पले उनीहरूको मुखमा खुसी दिन सक्छौ । र हाम्रो सानो हेल्पले हामीले कसैको लाईफ बनाउन सक्छौ ।’ दिँदै निर्णायक लगायत उपस्थितको मन जितेकी थिइन् । उनी के के ईन्टरनेसनल स्कुल धरानमा अध्ययनरत छिन् ।

त्यस्तै सिनियर तर्फ फस्ट रनरअपको उपाधि सुम्मिट सेकेन्डरी धरानमा अध्ययनरत अनन्त तामाङले जितेकी छिन भने सेकेन्ड रनरअप आईडियल इङ्लिश सेकेन्डरी स्कुलका अङ्कित राई राज्यले हात परेका छन् । यता जुनियर तर्फ भने सुम्मिट स्कुलका जीवित राईले फस्ट रनरअप र के के ईन्टरनेशनल स्कुलकी रीजा श्रेष्ठले सेकेन्ड रनरअपको उपाधि जितेकी छिन् । सहभागी सम्पूर्णलाई विगत २ हप्ता अघिदेखि मिस टुरिज्म नेपालकी सेकेन्ड रनरअप सोयाश्री बज्राचार्य लगायतले विभिन्न किसिमका व्यक्तित्व विकास, र्याम्पहरुको विशेष कक्षा दिइएको थियो ।

उक्त प्रतियोगितामा सीता पाठक, अरुण प्रधान, एलिजा मगर, विनोद श्रेष्ठ, रेश्मा घिमिरे, गोपाल देवान, अशोक जबेगु, सन्जिब बान्तवा, मनिकुमार राई, र जिता गुरुङ निर्णायकको भूमिकामा रहेका थिए । मिडियाल्याण्ड काठमाडौँको आयोजनामा सम्पन्न सो प्रतियोगितामा सहभागी ६५ प्रतिस्पर्धीका ६५ मम्मीहरूले समेत एकसाथ र्याम्प सो गरेका थिए । यस्तै सहभागी सम्पूर्णले आफ्नो सामाजिक उत्तरदायित्व बहनका लागि धरानका असहाय बालबालिका तथा पुनर्स्थापना गृह धरानमा सहयोग पनि गरेका थिए । सहभागीहरूले आफै आफ्नो साथीभाइ तथा आफन्तहरू सँग सहयोग सङ्कलन गर्दै यस्तो कार्य गरेको हो । 

प्रतिक्रिया