अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

जन अपेक्षा अनुरुप काम गर्न प्रदेश सभा सदस्यलाई प्रधानमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७५ जेठ २६ गते ९:५२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरूलाई आग्रह गर्नुभएको छ ।

विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आउनुभएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई सुझाव दिनुभयो ।

उहाँले राजनीतिक र सामाजिक समानताका लागि लडाइँ लडियो भन्दै अब, देशमा सुशासन जनताको भलाइ कसरी गर्ने, सामाजिक सम्पन्नता र आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

जनताले सुशासन र विकास चाहेकाले अब हाम्रो कार्यदिशा, सुशासन र विकासको बाटोमा क्रियाशील हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले व्यवस्था गरेका हक अधिकार, सामाजिक न्याय र समानताको प्रश्नलाई व्यावहारिकरुपमा कार्यान्वयन गरी आर्थिक समृद्धि र सुशासनतर्फ केन्द्रित हुनुपर्छ ।”
प्रधानमन्त्री ओलीले जनतामा परिवर्तनको अनुभूति हुनुपर्छ भन्दै जनप्रतिनिधिलाई जनताको सेवकका रूपमा काम गर्न, जनताको नजिक बस्ने र दृढ निश्चयका साथ देश बनाउने सङ्कल्पका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ । मैले त्यसै गरी, मन्त्रिपरिषद् र कर्मचारीतन्त्रलाई पनि स्वच्छरुपमा काम गर्न निर्देश गरेको छु ।”

हामी जनप्रतिनिधिप्रति जनताको सम्मान र विश्वास रहेको र जनप्रतिनिधिलाई खान पाउन पनि समस्या नरहेको उल्लेख गर्दै उहाँले ६० देखि ८० लाख गरिबीमुनि रहेका जनतालाई परिवर्तनको अनुभूति गराउनतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

राष्ट्रियताको सम्बन्धमा चर्चा गर्दै उहाँले भन्नुभयो, “मुलुक कहिल्यै पनि उपनिवेश नबनेको, स्वाधीन राष्ट्रका रूपमा रहेको र अब नेपाल उचाइमा पुगेको र सबै देशसँग बराबरीमा रहेर आफ्नो निर्णय आफैँ गर्छ ।”

उहाँले प्रदेशहरूलाई योजनाका लागि बजेटको व्यवस्था सङ्घीय सरकारले ऋण लिएर भए पनि उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

उहाँले सरकार समझदारीका साथ चलेको र समझदारीमै नीति तथा कार्यक्रम पारित भएकामा प्रतिपक्षलाई धन्यवाद दिँदै आधारभूत समझदारी, स्थायित्व, शान्ति, विकास र लोकतन्त्रलगायतका विषयमा मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

आफ्नो भारत भ्रमणपछि भारतसँग राम्रो सम्बन्ध बनेको, भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सम्बन्ध थप राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल–भारतको राम्रो सम्बन्धको विकासका क्रममा विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालय हटेको, सिमानामा बाँध बाँधिएका कारण डुबान क्षेत्रको सर्वे, सीमा समस्याका साथै जुलाईको प्रारम्भमा १९५०को सन्धिको अद्यावधिक गर्नका लागि विज्ञहरू काम गरिरहेका छन् ।”

निकट समयमा हुन लागेको आफ्नो चीन भ्रमणका सम्बन्धमा उहाँले नेपालको हितलाई कायम राख्ने विषयमा ढुक्क रहन आग्रह गर्दै चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सम्मान गरेको स्पष्ट पार्नुभयो ।

वीरगन्ज–काठमाडौँ रेलमार्ग निर्माणका लागि सर्वे सुरु भइसकेको, एक वर्षमा सर्वे पूरा भएपछि पाँच वर्षमा रेल सेवा सञ्चालन हुने विश्वास व्यक्त गर्दै उहाँले केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा रेलमार्गको निर्माणका साथै तीन वर्षमा मोनोरेल काठमाडौँमा चल्ने जानकारी गराउनुभयो ।

कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने विषयमा प्रधानमन्त्री ओलीले अनेक नदीलाई मिलाउने, डाइभर्सन निर्माण गर्ने, आधुनिक प्रविधिद्वारा सिँचाइ र सुनकोशी–कमला नदीमा डाइभर्सनबाट प्रदेश नं २मा पनि सिँचाइको सुविधा उपलब्ध गराउने जानकारी गराउनुभयो ।

जनतालाई आतङ्कित पार्नेहरुलाई सचेत गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिंसाको कुरा गर्ने, चन्दा, असुली र कानुन नमान्नेहरुलाई त्यस्ता हिंसालगायतका कार्यमा नलाग्न, देशको सार्वभौम अखण्डतालाई नमान्ने यस्ता प्रवृत्ति त्याग्न आग्रह गर्दै नत्र कानुनबमोजिम कारबाही हुनेछ ।”

प्रदेशलाई सबल बनाउन खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्दै प्रधानमन्त्री ओलीले प्रदेशको मुहार फेर्ने प्रदेशसभाको काँधमा रहेकाले अब ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउन लाग्न आह्वान गर्नुभयो ।

प्रदेश नं १ सर्वाधिक सुन्दर र सर्वाधिक समृद्ध रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भौगोलिक विधिवताका रूपमा संसारको उच्च शिखर सगरमाथाका साथै समुद्री सतहदेखि ७८ फिटमात्र उचाइमा अवस्थित केचनाकवलका साथै कृषि, जडीबुटी, ऊर्जालगायत विकासका आधारहरू रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू