अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ जेठ २४ गते ९:३० मा प्रकाशित

काठमाडौँ मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी अपरिहार्य रहेको नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बताउनु भएको छ । ‘मुलुक ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ’, उहाँले भन्नुभयो, ‘मुलुकको समृद्धिका लागि सहकारी महत्त्वपूर्ण आधार हो । समग्र मुलुकको विकास र समृद्धिकालागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्दछ ।’
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको ‘साकोस शिखर गोष्ठी–२०७५’ लाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले मुलुकको अर्थतन्त्रमा सहकारीको योगदानको प्रशंसा गर्दै अर्थतन्त्रलाई सही ढङ्गबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताउनुभयो ।

‘हरेक क्षेत्रमा देखिएको नीतिगत समस्यालाई अपडेट गरी समृद्ध मुलुक निमार्णमा सबै क्षेत्र एकताबद्ध भएर लाग्नु पर्दछ’, उहाँले भन्नुभयो, ‘नीतिगत समस्याको संसोध र नयाँ ऐन, नीति नियम निमार्णमा सरकार तयार छ ।’ उहाँले मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भ मध्ये सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधार स्तम्भ भएको स्पष्ट पार्नुभयो ।

त्यस्तै कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले सहकारीहरूको पुँजी सही तबरले सञ्चालन गर्न नसकिएको बताउनुभयो । ‘सहकारीको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ ।’, उहाँले भन्नुभयो, ‘उत्पादन मूलक क्षेत्रमा लगानी गर्न रहेका कानुनी अप्ठ्याराहरू केही छन् भने कानुनी अवरोध फकाउन सरकार तयार छ ।’ कानुनी अवरोधलाई हटाई समृद्ध मुलुक निमार्णका लागि सहकारीको पुँजी परिचालन गरी हातेमालो गरी अघि बढ्न सरकार तयार रहेको उहाँको भनाई थियो ।

‘सहकारीहरू उत्पादन मै केन्द्रित हुनु आवश्यक छ । यदि सहकारी उत्पादनमा केन्द्रित भएन भने सहकारी संस्थाहरू सहकारी रहँदैनन्’, उहाँले भन्नुभयो, ‘लगानी गर्ने वातावरण र व्यवस्थित गर्ने काम सरकारले गर्छ ।’

त्यसै गरी कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी अभियान आम नागरिकको अभियान भएको र सहकारीले उदाहरणीय काम गरेर देखाउनुपर्ने बताउनुभयो ।

उत्पादन, रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्ने तर्फ सहकारीलाई लाग्न उहाँले सुझाव दिनुभयो । ‘सरकारको नीति तथा कार्यक्रमको पालन गर्ने काम पनि सहकारीले गर्न सक्छ । जनताको आवश्यकताको काम सहकारीले गर्न सक्छ र गर्नुपर्छ’, सचिव मैनालीले भन्नुभयो । सहकारीले नेपालमा मात्र नभएर विश्वमै उदाहरणीय काम गर्न सक्ने उहाँको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घ, नेपालका अध्यक्ष केशवप्रसाद बडालले सहकारीहरू उत्पादनशिल क्षेत्रमा लगानी गरी काम गर्न तयार रहेको र कानुनी अवरोधले काम गर्न नसकेको बताउनुभयो । ‘हरेक क्षेत्रमा सहकारीले उदाहरणीय काम गर्न सक्षम छ’, अध्यक्ष बडालले भन्नुभयो, ‘मुलुकको विकास र समृद्धिका लागि सहकारीलाई विविध क्षेत्रमा काम गर्ने वातावरण हुने हो भने सहकारीले नमुना काम गरेर देखाउने छ ।’ केही सहकारीमा विकृति देखिएको र उक्त विकृतिलाई हल गर्दै सहकारी अभियान अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डुबी बन्नेतले सहकारीमा कर समस्या देखिएको र बजेटमा करका विषय सम्बोधन नगरेको दुख व्यक्त गर्नुभयो । कर समस्याको समाधान गर्न कार्य दल गठन भएको र कार्यदलमार्फत सम्बोधन हुने आशावादी रहेको बताउनुभयो । साकोस शिखर गोष्ठी अर्थपूर्ण र उपलब्धीमुलक हुने बताउनुभयो ।

प्रतिक्रिया