अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

वीर अस्पताल अब सधैं सफा हुन्छ’: बस्नेत

बिआरटीनेपाल २०७५ जेठ २० गते १८:२९ मा प्रकाशित

राजधानीस्थित मुलुककै जेठो अस्पताल, वीर अस्पतालमा अहिले सरसफाइ भइरहेको छ । वीर अस्पतालको मुहार नै फेर्ने गरी धुर्मुस–सुन्तली फाउण्डेशनले सरसफाइको काम गरिरहेको छ । यसअघि अस्पताल आफैले गरेको सरसफाइ किन सफल हुन सकेन ? सफाइका लागि धुर्मुस–सुन्तली फाउण्डेशन नै किन आउनु पर्यो ? अस्पताल सधैं सफा राख्न के–कस्ता चुनौती छन् ? आदि विषयमा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतसँग नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीः
वीर अस्पताल सफा गर्न धुर्मुस–सुन्तली फाउण्डेशन नै आउनु पथ्र्यो ?

वीर अस्पतालमा सफाई अभियान एक वर्षअघि नै सुरु भएको थियो । हामी पहिलेभन्दा एक तहमा अघि बढिसकेका थियौं । स्वास्थ्य मन्त्रालयको समन्वयमा सामाजिक अभियन्ता पनि सहभागी भएका हुन् । यो अभियानले देशभर सफाईको सन्देश जाने अपेक्षा गरेका छौं।

वीर अस्पतालको सफाई कुन स्तरको हुनु पर्छ त ?

अस्पताल पाँचतारे होटेलजस्तो आकर्षक सफा हुनु पर्छ । जहाँ बिरामीले प्रवेश गर्नेबित्तिकै आनन्द महसुस गर्न सकून् । तर वीर अस्पतालका आफ्नै समस्या छन् । यसका संरचना पुराना छन् । आकस्मिक कक्षको शौचालयको ढल नै साँघुरो थियो । यही कारणले पटक–पटक शौचालय जाम हुन्थ्यो । यसलाई पनि हामी ठूलो बनाउँदै छौं।

अस्पतालको पुरानो रंग फेर्नु भएछ किन ?

एउटै रङ वाक्कलाग्दो हुँदोरहेछ । त्यसमा पनि वीर अस्पतालको रङ सेतो भएकाले छुँदा मात्रै पनि फोहोर लाग्ने खालको छ । टिकट काउन्टरमा भर्खरै सेतो रंग लगाएका थियौं, त्यसको भोलिपल्टै फोहोर भयो । यसरी फोहोर हुन नपाओस् भनेर रङ परिवर्तन गरेका हौं ।

अस्पतालमा रङरोगन नगरेको कति वर्ष भयो ?
गत वर्ष मात्र गरेको हो । अस्पतालको रंङ सेता र भवन पुरानो भएकाले पुरै नयाँ नदेखिएको मात्र हो ।

भित्ते चित्र लेखन पनि भइरहेको छ, यसको आवश्यकता किन पर्यो ?
रङको सम्बन्ध मनसँग हुन्छ । विविध रङले मान्छेको मनमा प्रभाव पार्छन् । यहाँ आउने बिरामीलाई आउनेबित्तिकै मनमा आहाको अनुभव होस् भनेर भित्ते चित्र लेखन गरेका हौं ।

अर्को कुरा, चित्रले बिरामीको मनमा सकरात्मक सोच पनि आउँछ । राम्रो कुरा देखेपछि मान्छेको मन खुसी हुन्छ । राम्रो कुरा देखेपछि बिरामी पनि छिटो निको हुन्छ । विश्व स्वास्थ्य संगठनले पनि शारीरिक, मानसिक तथा आध्यात्मिक सबै किसिमले स्वस्थ भए मात्र एउटा व्यक्ति पूर्ण रूपमा स्वस्थ हुन्छ भन्ने परिभाषा दिएको छ ।

अस्पताल सफा भएन भने बिरामीलाई कुन–कुन कुरामा असर पर्छ ?
पहिला त बिरामीको मानसिकतामै असर गर्छ । अस्पताल फोहोर भयो भने बिरामीलाई थप संक्रमण पनि हुन्छ ।

यत्तिका वर्ष फोहोरमा कसरी काम गर्नु भयो ?
बस्नै नहुने किसिमको फोहोर त छैन नि । १ सय २८ वर्ष पुरानो अस्पताल यत्तिको सफा कतै देखाउनुहोस् ।

वीर अस्पताल सफाईमा सधैं चुनौती किन ?
अस्पताल सफाईमा धेरै किसिमका अवरोध छन् । त्यसकारण भनेजस्तो सधैं सफा हुन सकेन । अस्पतालका पुरानै संरचना, सेवाग्राहीको मानसिकता परिवर्तन गर्ने कुरा आफैमा अप्ठेरा छन् । थाहा भएर पनि हेलचेक्र्याईं छ । सबैभन्दा नेपालीको मानसिकता परिवर्तन गर्न गाह्रो छ ।

अस्पताल मात्र हैन, घर, बाटो सबै सफा हुनु पर्छ । त्यसका लागि पहिले हाम्रो दिमाग सफा हुनु पर्छ । यही नेपाली सिंगापुर गयो भने बाटोमा थुक्दैन । तर यहाँ फोहोर नफाल्नु भन्दा कसैले मानेको छ ? सफाई नभएको हैन मानसिकता नभएको हो ।

सफाइ कर्मचारी नपुगेर कि काम नगरेर अस्पताल फोहोर भएको हो ?

एउटा कुरा, कर्मचारीले काम नगरेर पनि हो । २४सै घण्टा म सफाइमै खट्न भ्याउँदिनँ । काम सफाइ विभागको हो । काम नगरी जागिर खाइन्छ भन्ने मानसिकता कर्मचारीमा छ । अर्काे कुरा, अस्पतालमा आउने बिरामी तथा कुरुवाले पनि सही तरिकाले शौचालयको प्रयोग नगरिदिने, यस्तै अस्पतालको पुरानो संरचनाले पनि बाधा पारेको छ।

सुपरभाइजरलाई खटाएको छु । सुपरभाइजरले भनेको दिन सफाइ हुन्छ, भोलिपल्ट गर्दैनन् । सुपरभाइजरले पनि मैले भनेको दिन मात्रै कर्मचारीलाई भन्छन् । जिम्मेवारी बोधको मानसिकता नै छैन । सबैभन्दा नेपालीको मानसिकता फेरिन आवश्यक छ ।
कर्मचारी अटेरी बनेकै हुन् त ?

काम नगरी जागिर खाइन्छ भन्ने मानसिकता कायमै देखिन्छ । त्यसका लागि अस्पताल प्रशासनले सीधै केही गर्न सक्ने अवस्था छैन ।

उसो भए अब के गर्ने त ?
त्यही परम्परालाई तोड्न यो पटक नयाँ सेवा करारमा सफाइ कर्मचारी लिएका छौं । त्यो करार धुर्मुस–सुन्तली आउनुअघि नै लिएका हौं ।

त्यसो भए अब वीर अस्पताल सधैं सफाइ हुन्छ ?
अब वीर अस्पताल सधैं सफाचट ह्ुन्छ । अब वार्डमा २४सै घण्टा सफा हुन्छ । ओपिडीमा १२ घण्टा हुन्छ । यसका लागि आम नागरिक, सेवाग्राही सबै जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । यो जिम्मेवारी सबैको हो ।नागरिक दैनिकमा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू