अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

एसएसपी श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने मोरङ जिल्ला अदालतको निर्णय

बिआरटीनेपाल २०७५ जेठ १७ गते ७:५८ मा प्रकाशित

काठमाडौं । मोरङ जिल्ला अदालतले साढे तेत्तीस किलो सुनको तस्करी र सनम शाक्यको हत्या प्रकरणका आरोपित बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

मोरङ जिल्ला अदालतमा विहान आत्मसमर्पण गरेका खत्रीसँग आजै बयान लिइएको थिनयो । बयान लगत्तै भएको थुनछेक बहसपछि न्यायाधीश नारायाणप्रसाद शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई जिल्ला कारागार मोरङमा राखिएको छ । बयानका क्रममा खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको, आफ्नै ‘व्याची’ प्रहरीवाट धोका पाएको र चुडामणि उप्रेती ‘गोरे’ले सरुवा गर्दिन्छु भन्दै धम्क्याउने गरेको बताएका थिए । खत्रीले अघिल्लो पटक पक्राउ पर्दासमेत आफूलाई फसाइएको भन्दै सुन तस्करी रोक्न चाहेपनि डिआइजी र गोरेका कारण नसकेको बयानसमेत दिएका छन् ।

नेपाल प्रहरीले इन्टरपोलमा ‘डिफ्यूजन नोटिस’ जारी गरेको दुई दिनपछि खत्री आज बिहान जिल्ला अदालत मोरङमा आफैं उपस्थित भएका थिए । दुई महिनासम्म फरार रहेका खत्री घटना छानबिन गर्न बनेको समितिले भक्तपुरको लोकन्थलीस्थित घरमा छापा मारेपछि अदालत पुगेका हुन् । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्री सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले बयानका लागि पत्र काटे लगत्तै फरार थिए ।

सुन तस्करी र हत्या प्रकरणका मुख्य आरोपित बनाइएका चुडामणि उप्रेती ‘गोरे’ले खत्री पक्राउ परे धेरै तथ्य बाहिरिने दावी गरेका थिए । गारेको बयानअनुसार त्रिभूवन विमानस्थलमा रहँदा खत्रीले प्रति किलोको पचास हजार रुपैयाँ लिएर सुन पास गराउँथे । यसअघि दुबईबाट ल्याइएको ३४ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका खत्रीलाई अदालतले सफाई दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू