अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

राष्ट्रिय परिचयपत्र जेठ २५ गतेबाट

बिआरटीनेपाल २०७५ जेठ ११ गते १०:१७ मा प्रकाशित

पहिलो चरणमा पाँचथरबासी र सिंहदरबारका कर्मचारीका लागि वितरण गर्ने भनिएको राष्ट्रिय परिचयपत्रका लागि जेठ २५ बाट डाटा संकलन कार्य हुने भएको छ । बहुउपयोगी बायोमेट्रिक्स सहितको परिचयपत्र उपलब्ध गराउने सरकारको निर्णयअनुसार राष्ट्रिय परिचय पत्र माघदेखि वितरण गर्ने भनिए पनि केहि ढिला गरी वितरण सुरु हुन लागेको हो ।

आज पाँचथरको फिदिममा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय पाँचथरले स्थानिय तहका प्रमुख, राजनीतिक दललगायतसँग गरेको छलफलमा जेठ २५ गतेबाट परिचय पत्र वितरणका लागि डाटा संकलन कार्य सुरु गर्ने बताइएको हो ।

केन्द्रले जिल्लाका सबै स्थानिय तहका प्रमुख तथा उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतलाई सदरमुकाम बोलाएर राष्ट्रिय परिचय कार्यकारी निर्देशक शिवराम जोशीले सबैलाई सहयोग गर्न आग्रह गरे । पाँचथर र सिंहदरबारका कर्मचारी गरी पहिलो चरणमा १ लाख १७ हजार वितरण गर्ने तयारी भएको थियो । दुई महिना भित्र विवरण संकलन गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परिचयपत्र व्यवस्थान केन्द्रका कार्यकारी निर्देशक शिवराम जोशीले जानकारी दिए ।

अहिले पाँचथर जिल्लाका लागि जिल्ला प्रशासनमा छुट्टै शाखा स्थापना गरेर सम्पूर्ण काम भइसकेको र अन्य कामका लागि प्राविधिकलाई तालिम दिने तयारीसमेत भएको जोशीले बताए । पहिलो चरणमा जिल्ला प्रशासन भित्रका कर्मचारीलाई जेठ २५ गते, २७ गतेबाट फिदिम नगरापलिका र त्यसपछि क्रमश गाउँपालिकामा डाटा संकलनकहरु पठाउने तयारी भएको जोशीको भनाइ छ ।

पहिलो चरणमा ४ दशमलव ८ मिलियन अमेरिकी डलर एडीबीको ऋण सहयोग हुने कार्यक्रममा पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्ने योजना रहेको छ । पाँचथरमा पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा अन्य १५ जिल्लामा कास सुरु हुने बताइएको छ ।

आर्थिक वर्ष २०६६/०६७ को बजेट तथा नीति कार्यक्रम मार्फत सरकारले परिचयपत्र वितरण गर्ने घोषणा गरेको थियो । नागरिकता प्राप्त गरेकालाई परिचय पत्र वितरण गरिने छ । एडीबीको ऋण सहयोगमा परिचय पत्र वितरणको काम अघि बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू