अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

सबै विद्यालयमा अङ्ग्रेजीबाट पठन–पाठन गर्ने तयारी

बिआरटीनेपाल २०७५ जेठ १० गते २०:०६ मा प्रकाशित

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अङ्ग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो ।

वडामा रहेका सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने पूर्वतयारी स्वरूप आधारभूत तहका अङ्ग्रेजी शिक्षकका लागि पाँच दिने अभिमुखीकरण तालीम सञ्चालन गरिएको छ । अङ्ग्रेजी माध्यमको पाठ्यक्रम, पूर्वतयारी, शैक्षिक सामग्रीको तयारी, कक्षा व्यवस्थापनलगायतका विषयमा शिक्षकको मानसिक तयारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडासचिव चित्र सुवेदीले बताउनुभयो ।

अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नका लागि कक्षा १ मा भर्ना भएका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गरिसकिएको वडा शिक्षा समितिले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू