अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

बिआरटीनेपाल २०७५ वैशाख ३० गते ९:३६ मा प्रकाशित

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा हिमालको आरोहण सुरु भएको छ ।  आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताउनुभयो । सगरमाथा आधार शिविर (बेस क्याम्प) मा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज दिउँसो ३ः३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ ।

अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतीक्षामा छन् । बेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही रहेको र सोमबार र मङ्गलवार झन्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । “धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्, भोलिबाट धमाधम समिटमा जानेछन् सबैभन्दा धेरै आरोही मङ्गलवार चुचुरोमा पुग्ने अनुमान गरिएको छ,”उहाँले भन्नुभयो । आरोहणका लागि मौसम अनुकूल देखिएकाले यो वर्षको आरोहण उत्साहजनक हुने श्रेष्ठको भनाइ छ । 

सगरमाथाको चुचुरो पुग्ने शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे रहेका छन् । हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिबाट गएका आठ शेर्पा चुचुरोमा पुगेका हुन् । उनीहरू दिउँसो आरोहण सफल गरी अहिले फर्कने क्रममा रहेका र आज क्याम्प–२ सम्म आइपुग्ने कम्पनीका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताउनुभयो । गतवर्ष बाटोका कारण आरोहणमा केही ढिलाइ भए पनि यो वर्ष समयमै बाटो खुलेकाले आरोहण उत्साहपूर्ण रहने उहाँले उल्लेख गर्नुभयो ।

अन्नपूर्ण आरोहणः कोरियालीे समूह सफल 
यसैबिच, आजै सगरमाथासँगै अन्नपूर्ण  हिमालको पनि सफल आरोहण भएको छ । दक्षिण कोरियाली नागरिक हाेंगविन किमको समूहले आज बिहान ११ः३० बजे अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ । किमका साथमा चारजना शेर्पा पनि सँगै अन्नपूर्णको चुचुरोमा पुगेका छन् । पिछुम्बी शेर्पा, ग्याल्जे शेर्पा, छिरिङ शेर्पा र निमा तेञ्जी शेर्पा अन्नपूर्ण आरोहणमा सफल भएका हुन् । यो मौसममा एकमात्र आरोहण दलले अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमति लिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । अन्नपूर्ण हिमाल आरोहणका हिसाबले असाध्यै गाह्रो मानिन्छ । 

पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ३८ वटा आरोहण समूह (टिम) का ३६४ आरोही गन्तव्यतर्फ लागेका छन् । यसमध्ये चार समूहका २० जना नेपाली छन् ।अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू