अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

तनावले मुखमा देखिने ६ समस्या

बिआरटीनेपाल २०७५ वैशाख २९ गते १२:५७ मा प्रकाशित

दीर्घकालीन तनावले स्वास्थमै समस्या आउँछ । यसले शारीरिक समस्यामात्र पैदा गर्दैन, मानसिक समस्या पनि पैदा गर्छ । तनाव मुख र दाँतका लागि पनि राम्रो होइन । यसले मुख र दाँत र समग्र ओरल हेल्थसँग सम्बन्धित निम्न ६ समस्या पैदा गर्छ ।

१. दाँत खाने
खास गरी यो समस्या राति सुत्दा देखिन्छ । यो साझा समस्या हो । यसबाट टाउको दुख्ने, मुखभित्र घाउ हुने, दाँतमा हानी नोक्सानी हुने आदि हुन्छ । दाँत खाने समस्या गम्भीर भए यसबाट दाँत नै भाँचिने पनि हुन्छ । तनाव र चिन्ता दाँत खाने समस्याको जड हो । ध्यान, परामर्श र व्यायाम तनाव र चिन्ता घटाउने केही उपाय हुन् जसले दाँत खाने समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ । डाक्टर दाँत खाने समस्याबाट हुने नोक्सान कम गर्न टुथ गार्ड पनि बनाउँछन् ।

२. टिएमजे डिस्अर्डर
खाना चपाउन समस्या भयो भने त्यसलाई टिएमजे डिस्अर्डर भएको भनेर बुझिन्छ । तल्लो बङ्गाराको जोड्नी ठिक कानमुनि हुन्छ । त्यो जोड्नी सुन्निदा र कडा हुँदा यो समस्या देखिन्छ । खाना चपाउँदा दुखे वा कर्र आवाज आए टिएमजे भएको हुनसक्छ । यो समस्याको मुख्य जड तनाव हो । यसबाट मुक्ति पाउन डाक्टरले हल्का खाना खाने, ध्यान गर्ने र चिन्ता कम गर्ने औषधी खाने सिफारिस गर्छन् ।

३. जुठो खटिरो
आम मानिसजस्तै कुनै न कुनै बेला तपाईँले पनि यो पीडादायी र रिस उठ्दो खटिराको सामना गर्नु भएको होला । भिटानिम बिको कमीबाट पनि यस्तो खटिरो आउँछ । तर, खटिराको अर्को मुख्य कारण तनाव पनि हो । तनाव घटे खटिरो नियन्त्रण हुन्छ । तनाव घट्दा पनि खटिरो नियन्त्रण नभए डाक्टरले जेल वा क्रिम सिफारिस गर्छन् ।

४. गिजाको रोग
तनावले पैदा गर्ने अर्को समस्या भनेको शरीरको संक्रमण प्रतिरोध गर्ने क्षमता घट्नु हो । तनावका कारण गिजाले पनि संक्रमण प्रतिरोध गर्न सक्दैन । त्यसबाट गिजामा रगत आउने, गिजाले दाँत नसमाउने र दाँतनै गुमाउनुपर्ने अवस्था आउन सक्छ । गिजामा समस्या देखिए गिजा विशेषज्ञलाई नै देखाउनु पर्छ । उपचार पद्धतिमा तनाव कम गर्ने विधिसमेत हुनसक्छ ।

५. ओठ सुक्ने
ओँठ सुक्ने र पोल्ने समस्याको धेरै कारणमध्ये एउटा तनाव पनि हो । चिन्ता र डिप्रेसनले पनि यो समस्या देखिन्छ । यो समस्या मदिरा र सूर्तिजन्य समस्याका कारण अझ गम्भीर बन्न सक्छ । उपचारमा डाक्टरले तनाव, चिन्ता र डिप्रेसन घटाउने विधि पनि सिफारिस गर्न सक्छन् ।

६. नङ टोक्ने
यो तनावसँग सम्बन्धित समस्या हो । यसले ओरल हेल्थमात्र नभएर सिङ्गो स्वास्थलाई नै नोक्सानी पु¥याउन सक्छ । नङ टोक्ने समस्या भएकामा दाँतले ठाउँ छोड्ने सम्भावना रहन्छ । यो समस्याले दाँतमा नोक्सानी पनि पु¥याउँछ । नङको फोहोर मुखमा पुग्दा सङ्क्रमणको जोखिम पनि हुन्छ । यो समस्या भएकाले तनाव राम्रो घटाउने उपाय खोज्नुहोस् वा डाक्टरकोमा जानुहोस् ।

तनाव व्यवस्थापन
तनाव व्यवस्थापन गर्न सिक्दा तपाईँको जीवन समग्रमा स्वस्थ बन्छ । त्यसका केही उपाय छन्ः तपाईँलाई के ले तनाव हुन्छ भन्ने पहिचान गर्नुहोस् (लेख्नुहोस्), घर र अफिसमा तपाईँको जिम्मेवारी प्राथमिकीकरण गर्नुहोस्, राति कम्तीमा ७ देखि ८ घण्टा सुत्नुहोस्, सम्भव भएसम्म हरेक दिन व्यायाम गर्नुहोस्, र समस्याका विषयमा तपाईँले विश्वास गरेको कोहीसँग कुरा गर्नुहोस् । यसका बाबजुद तनाव नियन्त्रण भएन भने व्यावसायिक परामर्शदाता भेट्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू