अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

अनाथ बालबालिकालाई अध्ययन खर्चको समस्या

बिआरटीनेपाल २०७५ वैशाख २८ गते ८:५९ मा प्रकाशित

काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधारमा रहेका बालबालिकालाई पोसाक र अध्ययन खर्चको समस्या परेको छ । आमाबाबु नभएका टुहुरा बालबालिकालाई पालनपोषण गर्दै आएको अनाथ तथा असहाय सुधार समाजमा रहेका ३७ बालबालिकालाई अध्ययन खर्च र पोसाकको समस्या परेको हो ।

विसं २०५९ मा काठमाडौँको डल्लुबाट एक जना बालबालिकाबाट सुरु भएको अनाथ तथा असहाय बाल सुधार समाजमा अहिले १३ महिला र २४ पुरुष रहेका छन् । जसमध्ये १३ जना बालबालिकाले बालविकास समाज बूढानीलकण्ठमा निःशुल्क अध्ययन गरेको र बाँकी २४ जनालाई पञ्चकन्या माविमा पैसा तिरेर पठनपाठन गराउँदै आएको समाजका सञ्चालक रमेशदेव सुनारले जानकारी दिनुभयो । “अनाथ बालबालिकालाई पैसा तिरेर पढाउनु पर्दा समस्या परको छ,” उहाँले भन्नुभयो ।

सुनारले आफू सानै उमेरमा अनाथ भएको कारण अनाथ बालबालिकाप्रति केही गर्नुपर्ने मान्यताका साथ १५ वर्षअघि अनाथ, असहाय बालसुधार समाज स्थापना गर्नुभएको थियो । समाजमा नुवाकोट, धादिङ, रसुवा, कास्की, सिन्धुपाल्चोक, कालिकोट, बाजुरा, मुगु, सुर्खेतलगायतका १४ जिल्लाका चारदेखि १८ वर्षमुनिका अनाथ बालबालिका रहेका छन् ।

अनाथ बालबालिकालाई दुई छाक खाना खुवाउन काठमाडौँ भ्याली विद्यालय चक्रपथले प्रतिमहिना १२ बोरा चामल, चार बोरा दाल उपलब्ध गराएको र तरकारीका लागि मसाजसेवी कल्पना थापाले सहयोग गरेको सञ्चालक सुनार बताउनुहुन्छ । अनाथ, असहाय तथा वृद्धले गरेको सङ्घर्ष देखेर समाजसेवी तथा कलाकार नयन डिसीले आफ्नो जन्मदिनका अवसरमा आज अनाथ, असहाय बाल सुधार समाज बूढानीलकण्ठ र मानसेवा आश्रम सामाखुशीमा रहेका १०० भन्दा बढी वृद्ध तथा बालबालिकालाई निःशुल्क भोजन गराउनुभएको छ ।

विसं २०७२ मा सामाखुशीमा स्थापना भएको मानव सेवा आश्रममा ६७ बेसहारा वृद्धवृद्धा रहेका छन् । खुला सडकलाई आफ्नो घर बनाएर बसेका मानिसलाई विभिन्न क्षेत्रबाट ल्याएर आश्रममा राखिएको हो । मुठी दानबाट सञ्चालनमा ल्याइएको आश्रम नेपाल र नेपालीबाट सञ्चालन भएको मानव सेवा आश्रम काठमाडौँका संयोजक सुमन बतौलाले बताउनुभयो । आश्रममा हाल मकवानपुरमा दुई, काठमाडौँमा दुई, चितवन, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बाग्लुङ र कास्कीमा सञ्चालनमा रहेको छ । काठमाडौँ महानगरपालिका–ं२६ मा सञ्चालनमा रहेको मानव सेवा आश्रम रहेको घरको भाडा भने महानगरपालिकाले ब्यहोर्दै आएको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू