अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

नेपाली खानाको विश्वव्यापीकरण अभियानको शुभारम्भ

बिआरटीनेपाल २०७५ वैशाख २४ गते १०:२२ मा प्रकाशित

नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको आज औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार पारिएको नेपाली खाना पकाउने ज्ञान प्रदान गर्ने कुकु बुक एवं भिडियोको सार्वजनिक गरिएको छ ।

होटेल एसोसिएसन अफ नेपाल(हान) र नेपाल पर्यटन बोर्डको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ती प्रचार सामग्रीको सार्वजनिक गर्दै नेपाल आउने विदेशी पर्यटकलाई यहाँको मौलिक खानाको स्वाद दिनसके त्यसैको माध्यमबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विदेशस्थित कूटनीतिक नियोग र गैरअवासीय नेपाली संघहरुमार्फत पनि नेपाली खानालाई प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ ।

मन्त्री अधिकारीले बुद्ध परिपथ र रामायण परिपथको प्रवर्द्धनका लागि हवाई सेवा विस्तार गर्नुपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणपछि यसमा अझ ठोस निर्णय हुने जानकारी दिनुभयो ।

उहाँले दुई वर्षभित्र पर्यटकीय पूर्वाधारका क्षेत्रमा मुलुकले ठुलो फड्को मार्नसक्ने विश्वास व्यक्त गर्दै उहाँले निजी क्षेत्रको साझेदारीबिना पर्यटनको विकास असम्भव भएकाले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको छ भन्नुभयो ।

देशभरिबाट संकलित झन्डै २०० प्रकारका रैथाने खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफहरूको टोलीले विस्तृत अध्ययन गरी विश्वव्यापी रूपमा सामग्रीको उपलब्धता, स्वाद आदिको आधारमा झन्डै ३० प्रकारका उपयुक्त नेपाली रैथाने खानालाई विश्व बजारमा प्रवर्द्धन गराउन कुक बुक तथा भिडियो तयार परिएको छ ।

छनोटमा परेका नेपाली रैथाने खानाहरूको नेपाल सरकारको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराएर प्रोटिन, न्यूट्रिसन आदि पक्षको प्रमाणित पत्र पनि प्राप्त गरिएको छ ।

वरिष्ठ पर्यटनविद् कर्ण शाक्यले खानाको माध्यमबाट नेपाललाई अन्तराष्टिय जगतमा पु¥याउन सकिने भएकाले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले आयोजना गर्ने भोजमा नेपाली खाना समावेश गर्नुपर्ने, देशका पाँचतारे होटेलमा अनिवार्य नेपाली रेस्टुरेन्ट र तीन तथा चारतारे होटेलमा नेपाली खानाको मेनु राख्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

होटेल सङ्घ नेपालका अध्यक्ष अमरमान शाक्यले विश्व पर्यटन बजारमा पकवान पर्यटनको विकास द्रुत गतिमा भइरहेको परिप्रेक्ष्यमा नेपालमा विद्यमान खानाको सम्वृद्ध रीतिरिवाज एवं संस्कृतिबाट नेपाली पर्यटन बजारले समेत प्रशस्त फाइदा लिन सक्ने हुँदा नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्ने अभियान सुरु गरिएको स्पष्ट गर्नुभयो ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र पनि नेपाली खानालाई विश्व जगतमा पु¥याउन आवश्यक भएकोमा जोड दिनुभयो ।

सोही कार्यक्रममा आमन्त्रित विभिन्न राष्ट्रका राजदूत एवं विशिष्ट पाहुनाहरूलाई कुक बुक तथा भिडियोमा समावेश भएका नेपाली रैथाने खाना खुवाएर स्वागत सत्कार गरिएको थियो ।

विश्वभरि छरिएर रहेका गैर आवासीय नेपालीहरूले सञ्चालन गरिआएका तथा भविष्यमा सुरु गर्ने नेपाली खाना पस्कने रेस्टुरेन्टहरूले प्रत्यक्ष फाइदा लिन सक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया