अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

चुक्ता पुँजी वृद्धिसंगै वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि विस्तार

बिआरटीनेपाल २०७५ वैशाख १८ गते ९:०१ मा प्रकाशित

काठमाडौँ, सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिएका वित्तीय विवरण अनुसार २८ वाणिज्य बैंकहरुको वित्तीय अवस्था सन्तोषजनक रहेका छन् ।

समीक्षा अवधिको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको चुक्ता पुँजीमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार अधिकांश बैङ्कले तोकिएको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याएका छन् । तर पाँच वाणिज्य बैंकहरु एनएमबि, मेगा, सिभिल, कुमारी र एनसिसि बैंकहरुले भने तोकिएको चुक्ता पुँजी पुर्‍याएका छैनन् । अन्य २३ वटा वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । यता यी बैंकहरुले मर्जर, हकप्रद, बोनस र थप नयाँ शेयर मार्फत चुक्ता पुँजी पुर्‍याउने बताएका छन् ।

चुक्ता पुँजी वृद्धि गरे अनुसार वाणिज्य बैंकहरुले आफ्नो क्षमतालाई समेत अभिवृद्धि गरेको तेस्रो त्रैमासिकको वित्तीय विवरणले पुस्टाएको छ । वाणिज्य बैंकहरुले समीक्षा अवधिमा निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सुधार गरेको छ । यससँगै वाणिज्य बैंकहरुको खुद मुनाफामा आर्जनमा समेत वृद्धि भएको छ । चुक्ता पुँजी वृद्धि गर्दा बैंकहरुलाई क्षमता विस्तार गर्नका लागि दबाब परेको थियो । तर यो दबाबलाई बैंकहरुले खेप्न सकेको सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन १६.१९ प्रतिशले बढेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुले २२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यद्यपि दुई वाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसविआई बैङ्कको निक्षेप सङ्कलनमा भने कमी आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन १९ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो । यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह २१.०८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुले १९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो ।

वाणिज्य बैंकहरुले निक्षेप सङ्कलन र कर्जा प्रवाहलाई मात्र विस्तार गरेको छैन । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको खुद मुनाफा आर्जनमा समेत सुधार आएको छ । यद्यपि चुक्ता पुँजी वृद्धिको तुलनामा खुद मुनाफा सन्तोषजनक नहुँदा प्रति शेयर आम्दामीमा सन्तुलन कायम राख्न भने सकेको छैन । गत आर्थिक वर्षको तुलनामा वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको समीक्षा अवधिमा १५.९९ प्रतिशतले खुद मुनाफा आर्जनमा वृद्धि गरेको छ । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरु मध्ये ६ वाणिज्य बैंकहरुको खुद मुनाफामा कमी आएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैङ्कले सबैभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कले ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

तेस्रो त्रैमासिकको वित्तीय विवरणले चालु आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकहरुको वित्तीय अवस्था सन्तोषजनक हुने प्रक्षेपण गर्न सकिन्छ । चालु आर्थिक वर्षको सुरुवात देखी नै वित्तीय प्रणालीमा देखिएको तरलता संकुचनको बाबजुद पनि वाणिज्य बैंकहरुले खुद मुनाफा आर्जन, निक्षेप सङ्कलन तथा कर्जा प्रवाहमा गरेको सुधारले आगामी दिनमा वाणिज्य बैंकहरुको वित्तीय अवस्था सकारात्मक हुने देखिएको छ । तर पनि केही बैंकहरुले आफ्नो क्षमतालाई थप अभिवृद्धि गर्न आवश्यक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू