अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा उत्साहप्रद सहभागीता

बिआरटीनेपाल २०७५ वैशाख १७ गते ७:५८ मा प्रकाशित

काठमाडौँ, राजधानीमा चलिरहेको नेपाल १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा सोमबारसम्म प्रत्यक्ष अप्रत्यक्ष झन्डै दश करोड रुपियाँ बराबरको कारोबार भएको छ । सोमबारसम्म मेलामा एक लाख ४० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । मेलामा सोमबार मात्रै तीन करोड रुपियाँको कारोबार भएको छ भने ४० हजारले अवलोकन गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा शुक्रवारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको मेलामा शुक्रवार २० हजारले अवलोकन तथा ५० लाखको कारोबार भएको थियो भने शनिवार ५० हजारले अवलोकन तथा चार करोड रुपियाँको कारोबार भएको थियो । यसै गरी आइतबार ३० हजारले अवलोकन तथा सवा दुई करोड रुपियाँको कारोबार भएको थियो ।

सोमबार मेलामा पूर्व मन्त्री अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरीप्रभा खड्गी तथा नेपाल सरकारका उच्च पदस्त कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलवारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ भन्ने रहेको छ ।

स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात् गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झन्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरूलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।

नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरू प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उहाँले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण हुन मुख्य प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासङ्घले धेरै अगाडि देखि नै नियमित रूपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरू आयोजना गर्दै आएको छ र यसरी १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रूपमा आयोजना गर्न सुरु गरेको हो ।

तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि–आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रूपमा रहेको मेला संयोजक मोहन कटवालले बताउनुभयो ।

मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, रोजगारी मेला लगायतका विविध कार्यक्रमहरू प्रदर्शनीका महत्त्वपूर्ण कार्यक्रमहरू हुने महासङ्घले जनाएको छ ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बङ्गलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ । २५० वटा स्टलको व्यवस्था रहेको सो  प्रदर्शनीमा दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र सात करोड भन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासङ्घले गरेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा हुने मेलाको सह–आयोजकको रूपमा नेपाल सरकार, उद्योग मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ रहेका छन् । त्यसै गरी अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवर्द्धन र सहयोगी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू