अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 02:07

कलाकार सम्मानित

बिआरटीनेपाल २०७५ वैशाख १४ गते ९:१० मा प्रकाशित

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा, शताब्दी पुरुष सत्यमोहन जोशी तथा वरिष्ठ गायक प्रेमध्वज प्रधानले आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार र पत्रकारलाई सम्मानित गर्नुभयो ।

सो अवसरमा राज्यमन्त्री बाँस्कोटाले वर्तमान सरकारले नेपाली कला सङ्गीतलाई सम्मान गर्दै आएको चर्चा गर्दै सङ्गीतको माध्यमबाट नेपाललाई विश्वमा परिचय गराउन कलाकारलाई आग्रह गर्नभयो । उहाँले सङ्गीत नै मानिसको जीवन्तता भएकाले सङ्गीतलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

शताब्दी पुरुष जोशीले सङ्गीतको महत्त्व विश्वभरि नै बढ्दै गएको चर्चा गर्दै विश्वको सबैभन्दा ठुलो पुरस्कार नोबेल पुरस्कार गुठीले सङ्गीतमा पनि १.२ मिलियन डलरको नोबेल सङ्गीत पुरस्कार पहिलो पटक दिएको जानकारी दिनुभयो ।

कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयका संरक्षिका इन्दिरा श्रेष्ठले कलानिधि महाविद्यालयको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।  सो अवसरमा यस वर्षको हरिकृष्ण तीर्थकुमारी कलानिधि सङ्गीत सम्मान कान्तिपुर दैनिकका पत्रकार सजना बराललाई प्रदान गरिएको थियो ।

महाविद्यालयको ५५औँ वार्षिकोत्सवका अवसरमा सो विद्यालयले लोकगायिका हरिदेवी कोइरालालाई मैयानानी बाबज्याना कलानिधि भक्ति सङ्गीत सम्मान, तबला बाधक रोशन शाक्यलाई उपेन्द्रगोपाल कृष्णादेवी कलानिधि सङ्गीत सम्मान, भजन गायक प्रेम खड्कालाई श्याम मलेकु कलानिधि भक्ति सङ्गीत सम्मान तथा फरेन्द्र आलेमगर जीवनलाई केशव सकुना कलानिधि सङ्गीत सम्मान प्रदान गरेको थियो ।

त्यस्तै शास्त्रीय गायक रबिनदास श्रेष्ठलाई श्रुति कलानिधि सङ्गीत सम्मान, गीतकार स्व दीपक कौडिन्यलाई नरेश उमा गौतम कलानिधि सङ्गीत सम्मान, गायक स्व कृष्णमान डंगोललाई इन्द्रशिला प्रभु समर्पण कलानिधि सङ्गीत सम्मान प्रदान गरियो ।

यसै गरी अन्य कलाकार सगुन शाह, कालीप्रसाद रिजाल, सुभद्रा अधिकारी, टीका भण्डारी, धनबहादुर गोपाली, प्राचार्य गोविन्द घटानी, आनन्द कार्की तथा देवीभक्त श्रेष्ठ पनि सम्मानित हुनु भएको छ ।

प्रतिक्रिया