अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

प्रदेश प्रमुख कोइरालाद्वारा संसद्मा सम्बोधन

अञ्जली थापा/कृष्णराम परियार, हेटौँडा २०७५ वैशाख ११ गते ११:२३ मा प्रकाशित

प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले देश र प्रदेशको विकासका लागि विभाजित नभई अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कोइरालाले आपसी एकता र समझदारी कायम गर्दै विकास र समृद्धिको चरणमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्प गएको तीन वर्ष भइसक्दा पनि ३० प्रतिशत भूकम्पपीडितले मात्रै आंशिक अनुदान पाएको भन्दै उहाँले उनीहरूलाई यथाशीघ्र छानामुनि ल्याउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । प्रदेश नं ३ को शीघ्र विकासका लागि यस प्रदेशलाई महत्त्वपूर्ण सुरुङमार्गमार्फत छोटो दुरीको पहुँच र एक जिल्ला एक विशिष्टीकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ सहरको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेको बस्तीको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीति लागू गरी भूमिको व्यवस्थापनलगायतका कार्यक्रम लागू गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले प्रदेश विकासको व्यवस्थित अवधारणा अघि सार्ने बताउनुभयो । मङ्गलवार नै बसेको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रमुखको सम्बोधनको प्रति टेबुल गर्नुभयो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले प्रदेश प्रमुख कोइरालाप्रति धन्यवाद प्रस्ताव राख्नुभएको थियो । 

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सदस्यको मर्यादाक्रम प्रतिनिधि र राष्ट्रिय सभापछि हुने भनी मन्त्रिपरिषद् बैठकले गरेको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । प्रदेशसभा बैठक वैशाख १३ गतेसम्म ११ बजेसम्मका लागि स्थगित भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू