अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

एक/दुई महिनामै फ्री भिसा फ्री टिकटसम्बन्धी व्यवस्था लागू गरिन्छ विभाग

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ७:५२ मा प्रकाशित

काठमाडौँ । श्रमिक नेता एवं सांसदहरूले वैदेशिक रोजगारीमा उर्जाशिल जनशक्ति पठाउने कार्य बन्द गर्नुपर्न आवाज उठाएका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ(काउन–नेपाल) ले प्रवासी श्रमिकका विषयमा आयोजना गरेको अन्तक्रियामा श्रमिक नेता एवं सांसदले स्वदेशमै रोजगारी सिर्जना गराएर श्रमिकलाई विदेश पठाउने कार्य बन्द गर्नुपर्ने धाारणा राखेका हुन् ।  

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद संजयकुमार गौतमले ए क्लासको नागरिकलाई विदेश निर्यात गरेर सी क्लासको नागरिक निर्यात गर्दै देश चलिरहने अवस्थाको अन्त्य गर्न वैदेशिक रोजगारको आकर्षणलाई हटाउनुपर्ने बताए । उनले ब्रेन र मसल्स निर्यात गरेर हामीले देखेको देशको आर्थिक समृद्धि पुरा नहुने भन्दै विदेश नजाउँ भन्नुभन्दा पनि यही उद्योगधन्दाको विकास गरेर रोजगारी दिईनुपर्ने बताए । त्यस्तै राष्ट्रिय सभाकी सांसद धना खतिवडाले एकैचोटी वैदेशिक रोजगारीको अन्त्य गर्न नसकिने भन्दै शिपयुक्त जनशक्ति तयार गरेरमात्र वैदेशिक रोजगारीमा पठाउने अवस्थाको सिर्जना गर्न आफूले आवाज उठाउने बताइन् ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष योगेन्द्र कुँबरले पनि वैदेशिक रोजगारीमा पठाउने कामलाई बन्दै गराउनुपर्ने धारणा राखे । उनले श्रमिकहरूलाई यहीँ नै जीवन धान्न पुग्नेगरी तलब दिनसक्ने अवस्था हुने र रोजगारी दिलाउन सके यो अवस्थाको अन्त्य हुने बताए । उनले एनजीओहरुले उठान गरिरहेको वैदेशिक रोजगारको मुदालाई अहिले ट्रेड युनियनहरूले उठाएको भन्दै क्रमशः वैदेशिक रोजगारीमा पठाउनेक्रमको अन्त्य गर्न ट्रेड युनियन सङ्गठनहरू लागेको बताए ।

काउन–नेपालको कार्यक्रममा वैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्सालले अबको एक÷दुई महिनामै फ्री भिसा फ्री टिकटसम्बन्धी व्यवस्था लागू गरेरै देखाइने दाबी गरे । उनले यसका लागि विभागले आवश्यक गृहकार्य गरिरहेको पनि जानकारी दिए । त्यस्तै उनले अनधिकृत एजेन्टहरू हटाउने कार्यका बारेमा पनि होमवर्क भइरहेको जानकारी दिँदै एजेन्टवालाहरुले अरूको पासपोर्ट बोकेर हिँड्ने अवस्थाको अन्त्य गराइछाड्ने बताए ।  

कार्यक्रममा काउन–नेपालका अध्यक्ष जेवी गुरुङ, महासचिव प्रदिप आचार्य लगायतले वैदेशिक रोजगारमा निर्माण श्रमिक र अन्यको हकमा पनि श्रमलाई व्यवस्थित र मर्यादिन बनाउन अन्तर्राष्ट्रिय निर्माण श्रमिक सङ्गठन बिडब्लु आइसँगको सहकार्यमा कार्य भइरहेको जानकारी दिए । त्यस्तै उनीहरूले वैदेशिक रोजगारीमा गएकाहरुको समस्या समाधान गर्न काउन–नेपालले नीतिगतरुपमा सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता रेशमराज रेग्मीले श्रमिक गाउँदेखि नै ठगिने अवस्थाको अन्त्य गर्न सबैले पहल गर्नुपर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित पार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया