अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

महोत्सवमा संकलित रकम धर्मशाला निर्माणमा

बिआरटीनेपाल २०७५ वैशाख ६ गते १९:१२ मा प्रकाशित

खोटाङ, महोत्सवमा सङ्कलन भएको रकम धर्मशाला निर्माणमा खर्च गरिने भएको छ । गत चैत १५ देखि २३ गतेसम्म दिक्तेलस्थित मझुवागढीमा सञ्चालन भएको धार्मिक तथा पर्यटकीय महोत्सवमा संकलित रु ४३ लाख ७६ हजार ५३६ धर्मशाला निर्माणमा खर्च गरिने भएको हो ।

नौ दिनसम्म सञ्चालन भएको महोत्सवमा रु ६० लाख ६२ हजार ३९२ सङ्कलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक पदमप्रसाद आचार्यले बिहीबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

सदरमुकाम दिक्तेलको सबैभन्दा नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा आउने तीर्थालुको सुविधाका लागि धर्मशाला निर्माण गर्ने योजना बनाइएको संयोजक आचार्यले बताउनुभयो ।

विश्व प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने तीर्थालुले मझुवागढी क्षेत्रको कालीका भगवती, बुद्धेश्वर गुफा र ऐतिहासिकस्थल मझुवागढीको दर्शन नगरे तीर्थ अपुरो हुने भएकाले यहाँ आउने तीर्थालुका लागि धर्मशाला निर्माण गरिने संयोजक आचार्यको भनाइ छ । धर्मशाला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार गरेको गुरुयोजनाको आधारमा निर्माण गरिने आयोजकले जनाएका छन् ।

करिब रु डेढ करोडको लगानीमा निर्माण गर्न लागिएको धर्मशालाका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताएको छ । विभिन्न सभासम्मेलन समेत गर्न मिल्ने गरी निर्माण गर्न लागिएको धर्मशालाको शिलान्यास महोत्सव उद्घाटनका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू