अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’ मा फेसन ब्रान्ड ‘क्याप्सुल ९’ ले सहकार्य गर्ने

कुबेर डङ्गोल, काठमाडौँ २०७५ वैशाख ३ गते ८:४२ मा प्रकाशित

साउनबाट सुरु हुन लागेको गायन रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’मा फेसन ब्रान्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ । ‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बिच सोमबार राजधानीमा पत्रकार सम्मेलनमाझ सहकार्यको सम्झौता भएको हो । क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए ।

सम्झौता कार्यक्रममा ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो । क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले सम्झौता पछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताए। ‘हाम्रो देशभर ७० वटा डिलर छन् । ती डिलरमार्फत दर्शकले सोको टिसर्ट खरिद गर्न सक्नुहुनेछ,’उनले भने,‘अन्तर्राष्ट्रिय रूपमा ख्यातीप्राप्त गायन रियालिटी सोको नेपाल फ्रेञ्चाइजीसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो । अब हामी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उत्पादनलाई पु¥याउने अभियानमा छौँ ।’ उनका अनुसार सो आयोजकले सो भइरहेको स्थानमा एक स्टिल उपलब्ध गराई टिसर्ट विक्री पनि गर्नेछ । 

‘दी भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले फेसनसँग नजिक रहेर काम गरिरहेको क्याप्सुल ९ सँग सोको सहकार्य गर्न पाउनु सुखद रहेको जनाए । ‘हामीले सो सुरु हुनु अघि नै राम्रा ब्रान्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो,’उनले भने,‘हाम्रो सोसँगै क्याप्सुल ९ को प्रबर्द्धनका लागि पनि सम्झौता र सहकार्य महत्त्वपूर्ण हुनेछ ।’

नेदरल्याण्डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘दी भोइस अफ नेपाल’ ल्याएको हो । विश्वभरिका १ सय ९२ मुलुकमा सफलतापूर्वक सम्पन्न भइसकेको यो रियालिटी सोको नेपाल फ्रेञ्चाइजीको तयारीमा आयोजक जुटिसकेका छन् ।  नेपाल फ्रेञ्चाइजीको सो निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहेका छन् ।

कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण हुने सोका लागि काठमाडौँको धुम्बाराही–४ प्रगतिमार्गमा स्टुडियोका लागि भवन (ट्रस) निर्माण भइरहेको छ । यो सो जेठबाट प्रसारण हुने तयारी भइरहँदा सोही समयमा विश्वकप फुटबल हुने भएपछि आयोजकले साउन महिनाबाट सोको प्रसारण सुरु गर्न लागेका हुन् ।

प्रतिक्रिया