अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

२०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे

बिआरटीनेपाल २०७५ वैशाख ३ गते ७:२३ मा प्रकाशित

काठमाडौँ, गत वर्ष हालसम्मकै उच्च सङ्ख्यामा पर्यटक भित्र्याएको तथ्याङ्कले देखाएको छ । २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसले पर्यटन क्षेत्रका लागि निकै ठुलो उत्साह फैलाएको छ ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात् सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रूपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सन् २०१६ मा साढे सात लाख पर्यटक नेपाल आएका थिए । 

यसै वर्ष पर्यटन क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ‘इभेन्ट’ कार्यक्रम भए । यसबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न मद्दत पुग्यो । पर्यटन क्षेत्रको हालसम्मकै ठुलो इभेन्ट ‘हिमालयन ट्राभल मार्ट–२०१७’ काठमाडौँ सम्पन्न भयो । नेपाल पर्यटन बोर्डको सहयोगमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा नेपाल च्याप्टर) ले आयोजना गरेको मार्टमा ठुलो सङ्ख्यामा विदेशी पर्यटन व्यवसायीको सहभागिता थियो ।

समग्र पर्यटन प्रवर्द्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले पनि २०७४ मा आफ्नो प्रवद्र्धनात्मक अभियानलाई फरक शैलीमा तीव्रता दिनुले पनि२०७४ लाई पर्यटनमय वर्षका रूपमा स्थापित गरेको छ । बोर्डले २०७४ सालबाटै विद्युतीय बजार ‘डिजिटल मार्केटिङ’, सुरु गरेको छ भने मौसम केन्द्रित पर्यटनलाई बाह्रै महिना बनाउनका लागि अभियान थालेको छ । वर्षा, जाडो र गर्मीलाई प्रवर्द्धन गरी पर्यटक आकर्षण गर्ने योजनाअनुरुप अभियान चलाइएको बोर्डको भनाई छ ।

होटेल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाह पनि समग्रमा वर्ष २०७४ पर्यटनका लागि उत्साहवद्र्धक भएको बताउनु हुन्छ । उहाँका अनुसार पर्यटक आगमनको दृष्टिकोणलाई मात्रै विश्लेषण गर्दा पनि २०७४ साल पर्यटनमय बन्न पुगेको छ जुन पर्यटन ब्कायबसायीहरुका लागि निकै उत्साहपूर्ण छ ।

सन् २०१८ को तीन महिनामा विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै करिब तीन लाख पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार जनवरी, फेब्रुअरी र मार्चमा दुई लाख ८६ हजार ८८२ पर्यटक नेपाल आए । सबैभन्दा बढी चीनबाट ४० हजार पर्यटक आएका छन् । भारतबाट ३४ हजार पर्यटक नेपाल आएका छन् । यो सन् २०१७ को पहिलो तीन महिनाको तुलनामा ११.४ प्रतिशतले बढी हो । 

वर्षको सुरुवातमा पर्यटकको उल्लेख्य आगमनले पर्यटनमा थप उत्साह जगाएको हानेका महासचिव शाहले बताउनुभयो । पदयात्रा र पर्वतारोहणको मुख्य याममा अहिले उल्लेख्य सङ्ख्यामा आरोही तथा पदयात्री विभिन्न मुलुकबाट आएका छन् । यस याममा पनि ६० प्रतिशतभन्दा बढी होटेल बुकिङ रहेको र यो अझै बढ्ने महासचिव शाहको भनाइ छ ।

वसन्त ऋतुको यस याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न हालसम्म ६४९ आरोही आएका छन् । पर्यटन विभागको विवरणअनुसार हालसम्म ७६ वटा आरोहण समूहका ६४९ आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू