अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध: गृहमन्त्री थापा

बिआरटीनेपाल २०७४ चैत २५ गते ८:५६ मा प्रकाशित

चितवन। गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग सङ्घले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबिच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक आवरणमा हुने चन्दा आतङ्क सरकारले रोक्छ भन्नुभयो ।

विकास र समृद्धिका लागि सुशासन अपरिहार्य छ भन्दै गृहमन्त्री थापाले कर्मचारी प्रशासनमा हुने भ्रष्टाचार, अनियमितता र नोकरशाहीतन्त्रका कारण यहाँका उद्योग व्यवसाय संरक्षण हुन नसकेकाले यसमा नीतिगत सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

“चीन र भारतबाट ह्वारह्वार्री आउने सामानलाई नीतिगतरूपले व्यवस्थित नगरिएसम्म यहाँका उद्योग फस्टाउन सक्दैन ।” उहाँले भन्नुभयो, “कतिपय नीति भएर पनि कार्यान्वयन हुन नसक्दा यहाँका उद्योग व्यवसाय ओझेलमा परेका छन् । खुला सीमाका कारण तस्करी बढिरहेको र यसले नेपालको अर्थतन्त्रलाई डुबाइरहेको छ । ” 

सरकारको मूल लक्ष्य विकास र समृद्धि नै हो भन्दै गृहमन्त्री थापाले गरिबीका कारण विगतमा यहाँको श्रम शक्ति पलायन हुँदै आएकामा अबको सरकारले स्वदेशमै उद्योग तथा व्यवसाय फष्टाउन प्रोत्साहित गर्ने बताउनुभयो । देशका उद्योग व्यवसाय २४ सैं घण्टा सञ्चालन हुनुपर्ने भन्दै उहाँले त्यसको सुरक्षाको प्रबन्ध सरकारले मिलाउँछ भन्नुभयो ।

यसअघि उक्त सङ्घका तर्फबाट औद्योगिक गुल्म स्थापना गर्न, औद्योगिक वातावरणको सिर्जना गर्न, चन्दा आतङ्क तथा धम्की रोक्न, उधारो भुक्तानीको समस्या हटाउन, कर छलीका नाममा व्यवसायीलाई गरिने अमानवीय व्यवहार रोक्न, अस्पताललाई झैँ उद्योगलाई पनि विद्युत् शुल्कमा छुट दिन माग गरिएको थियो ।

सङ्घका अध्यक्ष भेषराज दुवाडी, पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, उद्योग वाणिज्य सङ्घ जिल्ला अध्यक्ष सहनलाल प्रधान, नेपाल अण्डा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष शिवराम केसी, क्षेत्रीय होटेल सङ्घ नेपाल, सौराहाका अध्यक्ष सुमन घिमिरे, निजी अस्पताल समन्वय समितिका जिल्ला अध्यक्ष नारायणसिंह कुँवर, अस्पताल व्यवसायी शम्भु सुवेदी, व्यवसायी आकाश थापा लगायतले आ–आफ्नो क्षेत्रमा देखिएका सुरक्षा अभावलगायत व्यावसायमा देखापरेका समस्याबारे गृहमन्त्री थापालाई अवगत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू