अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 06:06

दोस्रो किस्ता लिने समयसीमा २०७५ असार मसान्तसम्म थप

बिआरटीनेपाल २०७४ चैत २० गते ९:०० मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक मङ्गलवार बिहान सम्माननीय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा समितिको १२ औँ बैठक बसेको हो ।

बैठकले भूकम्प पीडित लाभग्राहीले निजी आवास अनुदानको दोस्रो किस्ता बापतको रकम लिने समयसीमालाई तीन महिना बढाएर २०७५ असार मसान्तसम्म कायम गरेको छ । यसअघि दोस्रो किस्ता बापतको रकम २०७४ चैत्र मसान्तभित्र बुझिसक्नु पर्ने प्रावधान थियो ।

बैठकमा आफ्नो धारणा राख्दै समितिका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री ओलीले पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्दै निजी आवास पुनर्निर्माणलाई जोड दिनु पर्ने बताउनु भयो ।

“सबै भन्दा पहिलो भूकम्प प्रभावित जनता खास गरी बालबालिका, बूढाबूढी, अशक्त, अपाङगता भएका व्यक्तिहरू, गर्भवती महिला र बिरामीलाई सुरक्षित छानोमुनि ल्याउने काम प्राथमिकतामा पर्नु पर्छ ।”

सम्माननीय प्रधानमन्त्री ओलीले भूकम्प प्रभावितले अनुदान पाउने प्रक्रियालाई सहजीकरण र सरलीकरण गर्नु पर्नेमा जोड दिँदै आवश्यक परे ऐन, नियममै संशोधन गरी झन्झटिला प्रावधान हटाउनु पर्ने बताउनु भयो । उहाँले यसका लागि बजेट तथा जनशक्ति थप गर्नु पर्ने आवश्यकता भए प्रस्ताव गर्न पनि प्राधिकरणलाई निर्देशन दिनु भयो ।

बैठकमा प्राधिकरण र अन्तर्गत रहेका केन्द्रीय एवम् जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइको मौजुदा सङ्गठन संरचना एवम् परिवर्तित सन्दर्भमा प्राधिकरणबाट प्रस्ताव गरिएको सङ्गठनको पुनर्संरचनाको खाकामा विस्तृत छलफल भयो । छलफलमा उठेका सुझावहरूलाई समेत मध्यनजर गरी प्रस्तावित संरचनामा सामान्य हेरफेर गर्नुपर्ने भए सोहीअनसार गरी कार्यान्वयनमा लैजान समेत सम्माननीय प्रधानमन्त्रीले निर्देशन दिनु भयो ।

बैठकमा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले चैत्र २८ गतेबाट जिल्लागत प्रशासनिक संरचनामा फेरबदल हुने भएकोले पुनर्निर्माण कार्यलाई तीव्रताका साथ निरन्तरता दिन मौजुदा सङ्गठनात्मक संरचनामा पुनर्र्संरचना प्रस्ताव गरिएको बताउनु भयो ।

बैठकमा छलफलका क्रममा सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाको प्राधिकरणका सचिव मधु सुदन अधिकारीले जवाफ दिनु भएको थियो ।

बैठकमा समितिका उपाध्यक्ष नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, गृहमन्त्री राम बहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, अर्थमन्त्री डा.युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालको उपस्थिति थियो ।
त्यसै गरी, नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी, निर्देशक समितिका अन्य सदस्यहरू तानानिधि भट्टराई, किशोर थापा, निमानन्द रिजाल, प्राधिकरणका कार्यकारी समितिका सदस्यहरू धुव्र प्रसाद शर्मा, हरिरमा पराजुली, डा.चन्द्र बहादुर श्रेष्ठ, डा. विष्णु बहादुर भण्डारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवद्वय प्रेम कुमार राई र महेन्द्रमान गुरुङ, अन्य सम्बन्धित मन्त्रालयका सचिवहरू, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुखहरूको पनि सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू